विश्वकप क्रिकेटको फाइनल खेल रद्द भए के गर्ने भनेर आईसीसीले बनायो नयाँ नियम

111

जेठ ३१,
काठमाडौँ । जुन ७ तारेखमा श्रीलंका र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भयो । दुबै टिमले १–१ अंक बाँडे । त्यस्तै, दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि वर्षाकै कारण रद्द भयो । फेरि श्रीलंका र बंगलादेशबीचको खेल पनि पानीले विथोलियो । एकपछि अर्को खेलमा वर्षाको कारण रद्द हुने क्रममा भारत र न्युजिल्यान्डको खेल पनि रद्द भयो । लगातार खेलको समयमा पानी परेपछि विश्वकप नै खल्लो भएको छ । पानी अथवा विभिन्न कारणले खेल रद्द हुदा के हन्छु ? खेलमा दुबै टिमले बराबर रन बनाएर खेल बराबरी भए नतिजा कसको पोल्टामा जान्छ ? यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ नियम बनाएको छ ।

१. सुपर ओभर

विभिन्न फ्रेन्चाइज लिगको सबै खेलमा रन बराबर हुँदा सुपर ओभरबाट विजेता टिमको टुंगो लगाइन्छ । जहाँ एक ओभरको खेल हुनेछ । तर विश्वकप क्रिकेटमा यस्तो हुने छैन ।

आईसीसीको नियमअनुसार विश्वकपमा सुपर ओभर सेमिफाइनल र फाइनलमा मात्रै हुनेछ । समूह चरणको खेल बराबर भएमा दुबै टिमले अंक बाँड्नेछन् ।

२.टाइब्रेकर

क्रिकेटमा कुनै बेला टाइ–ब्रेकरबाट विजेताको छिनोफानो लाग्ने गरेको छ तर यो विरलै हुने गर्छ । सेमिफाइनल र फाइनलमा मात्रै सुपर ओभर हुने भएपछि टाइ–ब्रेकर पनि यीनै खेलमा हुने सम्भावना हुन्छ । तर अत्यन्तै कम मात्रामा ।

आईसीसीको नियमअनुसार टिमको जितको संख्या, नेट रनरेट, हेड टु हेड खेलको नतिजा र प्रि टुर्नामेन्ट सिडिङमा जुन टिम अगाडि छ, त्यो टिम नै विजेता हुनेछ ।

३. रिजर्भ डे

आरक्षित दिन (रिजर्भ डे) विश्वकपमा सेमिफाइनल र फाइनलमा मात्रै छ । आईसीसीको विश्वकप नियमअनुसार समूह चरणको खेलमा कुनै रिजर्भ डे छैन ।

४. सेमिफाइनल रद्द भए ?

सेमिफाइनलको खेल पानी परेर वा कुनै कारणले रद्द भए कुन टिम फाइनलमा जाने छ ? लिग चरणको अंक तालिकामा अगाडि रहेको टिम फाइनलमा पुग्ने आईसीसीले नियम बनाएको छ ।

५. फाइनल खेल रद्द भए ?

विश्वकप क्रिकेटको फाइनल खेल रद्द भएमा विजेता कुन टिम हुनेछ ? यसमा आईसीसीको नयाँ नियमले भन्छ – यदि फाइनल खेल नै रद्द भएमा फाइनल पुग्ने दुबै टिम संयुक्त रुपमा विजेता घोषित हुनेछन् ।