फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको मृत्यु भएको भए पनि विश्व स्वास्थ्य सङ्गठन ले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ। डब्ल्यूएचओले फ्रान्सेली अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गर्ने सङ्गठनले बताएको छ।
शामोन्डा भाइरस मुख्यतः गाईवस्तुमा देखिने भाइरस हो। डब्ल्यूएचओका अनुसार यो भाइरस पहिलोपटक सन् १९६५ मा नाइजेरियामा गाईवस्तुमा पहिचान गरिएको थियो। गाईबाहेक भेडा, बाख्रा, घोडा र अल्पाकामा समेत यसको सङ्क्रमण देखिएको छ।
विश्व पशु स्वास्थ्य सङ्गठन ९डब्ल्यूओएएच० का अनुसार सङ्क्रमित जनावरमा ज्वरो आउने, पखाला लाग्ने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिन सक्छन्। यसले जन्मिने बाच्छाबाच्छीमा जन्मजात असामान्यता पनि निम्त्याउन सक्छ। यसअघि शामोन्डा भाइरसका अधिकांश घटना अफ्रिका र जापानमा देखिएका थिए। सन् २०२६ को गर्मीयाममा जर्मनीको दक्षिणी क्षेत्र र स्विट्जरल्यान्डका गाईवस्तुमा यो भाइरस पहिचान भएपछि युरोपमा पनि यसको उपस्थिति देखिएको हो। त्यसपछि अस्ट्रिया, बेल्जियम र फ्रान्सका जनावरमा समेत सङ्क्रमण भेटिएको छ।













