Saturday, September 26, 2026
Home अन्य कला समानुपातिकतर्फ कलाकार उम्मेदवार

समानुपातिकतर्फ कलाकार उम्मेदवार

165

काठमाडाैँ । नेपालीदेखि बलिउड फिल्ममा सकारात्मक र नकारात्मक भूमिकामा लोकप्रियता कमाउँदै आएका अभिनेता तथा गायक एवं संगीतकार मुरलीधर (मुरली मिझार) पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिरहाको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। काठमाडौं र मुम्बई आउजाउ गरिरहने मुरलीधरले अनाचार, भ्रष्टाचार, अत्याचार, व्यभिचारको अन्त्य गर्न आफु र आफ्नो पार्टी एक मात्र विकल्प भएको जनाएका छन्।

फिल्मकर्मीहरूले समानुपातिकतर्फको टिकट पनि पाएका छन्। फिल्म निर्माता, निर्देशक, प्रदर्शक तथा वितरक उद्धव पौडेल राप्रपाबाट प्रतिनिधि सभातर्फको समानुपातिक उमेदवार छन्।

‘म विराटनगरमा जन्मिएँ, हुर्किएँ किशोरावस्था विराटनगरमा बिताएँ। जीवनमा केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई राजधानी काठमाडौं पुर्यायाे। फिल्म क्षेत्रमा चार दशक निरन्तर क्रियाशील भएँ, नेपाली फिल्म क्षेत्रको विकास, रोजगारी सिर्जना र देशको राष्ट्रिय कोषमा न्यून भए पनि योगदान दिन सकेकोमा मलाई सन्तोष र गर्वको अनुभूति हुन्छ। एक दशकदेखि निरन्तर राजनीतिक क्षेत्रमा सक्रिय छु।

विराटनगरको उप प्रधानपञ्चबाट शुरु भएको मेरो राजनीतिक करियर फिल्म क्षेत्रबाट अवकाश लिएपछि पुनः शुरु गरेको हुँ। मलाई विराटनगरले जन्म मात्रै दिएन, मेरो परिचय दिलायो, विराटनगरले मलाई लगाएको गुन र ऋण तिर्न बाँकी छ। त्यसैले, विराटनगरबाट नवीन अध्याय शुरु गर्दै छु।

समृद्ध विराटनगर मेरो सपना मात्रै होइन संकल्प पनि हो’ राप्रपाको कार्यसम्पादन समितिका सदस्य पौडेलले विज्ञप्ति जारी गरेर भनेका छन् ‘यथास्थितिबाट देश अघि बढ्न सक्दैन। क्रान्ति, परिवर्तन र आन्दोलनका नाममा हामीले धेरै वर्ष खेर फाल्यौं। पुराना शक्तिमाथि मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा नभइसकेको अवस्थामा यो निर्वाचन हुन गइरहेको छ। विराटनगरको सेवा गर्ने अवसर प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु।’