काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको हो ।
मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम बनाउनेमा घोषणापत्रले जोड दिएको छ ।
घोषणापत्रमा राजनीति र आर्थिक आवश्यकता हासिल गर्न लिइनुपर्ने नीतिगत व्यवस्था तथा विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न चाल्नुपर्ने कदमका बारेमा उल्लेख गरिएको छ । संविधान, गणतन्त्र, संघीयता, समानुपातिक समावेशीतालगायत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीमाथि आक्रमण भइरहेको अवस्थामा घोषणापत्रले सङ्घीयता कार्यान्वयन र संविधानको अक्षरशःः पालनालाई जोड दिएको घोषणापत्र निर्माण कार्यदलका सदस्य गणेश साहले जानकारी दिए।
‘मूलरुपमा अहिलेको संविधानमाथि विभिन्न रुपमा आक्रमण भइरहेको छ, संविधानको कार्यान्वयन गराउने र संघीयतालाई प्रभावकारी बनाउने विषयलाई घोषणापत्रमा प्राथमिकता दिइएको छ’, उनले भने, ‘संविधानको रक्षा र संविधानप्रदत्त अधिकारलाई कानुनी र व्यावहारिक रुपमा लागू गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।’ जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य, मर्यादित रोजगारीको वातावरण बनाउने, प्राविधिक र जीवनमैत्री शिक्षा सुलभरुपमा उपलब्ध गराउने विषय घोषणापत्रमा समावेश छ ।
मुलुकमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न कृषि क्षेत्रमा उत्पादन बढाउन घोषणापत्रले जोड दिएको छ । लगानी मैत्री वातावरण निर्माण गर्ने, कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई बढवा दिने र जनशक्तिको यथोचित प्रयोग गरेर उत्पादन वृद्धि गर्ने पनि घोषणापत्रमा उल्लेख छ । ‘उत्पादन वृद्धि गरेर चुलिएको व्यापार घाटा कम गर्ने माओवादीको योजना छ’, माओवादी सचिवसमेत रहनुभएका सदस्य साहले भने।













