पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङतर्फको इभेन्ट सम्पन्न भएको छ। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा फेन्सिङको पुरुष टिम इपीमा आर्मीले स्वर्ण पदक जितेको हो।
फाइनलमा अर्को विभागीय टिम एपिएफलाई ४५-२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो। आर्मीको फेन्सिङमा यो ५औँ स्वर्ण हो। उपविजेता बनेको एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए।
फेन्सिङतर्फ ६ खेलका १२ इभेन्ट भएका थिए। जहाँ ५ स्वर्ण र कूल १७ पदकसहित आर्मी शीर्ष स्थानमा रह्यो। आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गर्दा बागमतीले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो। एपिएफ २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा रहँदा सुदूरपश्चिम १ स्वर्ण २ कास्यसहित ३ पदक जित्न सफल भयो। त्यसैगरी, गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा रहँदा प्रदेश १ ले ३ कास्य पदक हात पारेको छ। पाँच टिम भने पदकविहीन रहे।













