विराटनगरमा एक युवककाे अपहरण गरेर हत्या

69

विराटनगर । सिरहा गोलबजार घर भएका एक युवकको विराटनगरमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कस्थित एक होटलमा फेला परेको हो।

सदाको अपहरणपछि होटलको एक नम्बर कोठामा हत्या भएको प्रहरीले जनाएकाे छ। मोरङका प्रहरी प्रमुख उपरीक्षक शान्तिराज कोइरालाले अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेकाे जानकारी दिए।

१ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको उपरीक्षककाे भनाइ छ। किसान परिवारका सदाको हत्या २७ गते बेलुकै भएको प्रहरीले जनाएकाे छ। अपहरणकारीहरू सदाकाे हत्यापश्चात उनकाे शवलाई पलङभित्र हालेर भाग्ने कोसिसमा रहेका प्रहरीले जनाएकाे छ।प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन्।