Sunday, September 27, 2026
Home समाचार युवतीमाथि तेजाव हान्‍ने दुईजना सार्वजनिक

युवतीमाथि तेजाव हान्‍ने दुईजना सार्वजनिक

149

साउन ९,
काठमाडौं । राजधानीको सीतापाइलामा एकजना युवतीमाथि तेजाव हान्‍ने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाव हानेर फरार भएका दुवैजनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिएको हो। काठमाडौं परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले उनीहरुलाई डल्लुबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्‍ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्‍ना मोहम्मद छन्। उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए। प्रहरीलाई दिएको बयान अनुसार आफूहरुले मन पराएकी केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्‍वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् । तेजावले अनुहार जलेको अवस्थामा युवतीलाई राति नै कीर्तिपुर अस्पताल लगिएको छ।