भदौ १६,
काठमाडौं । नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको बैंकको एटीएम ह्याक गरी रकम लुट्ने गिरोहका सदस्यमध्ये फरार रहेकाहरुले ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए ।
उनीहरुलाई गैरकानुनी रुपमा सटही गरेको २९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए । प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा फरार रहेका ३ जना चिनियाँ नागरिकमध्ये एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनिया मूलका फ्रान्सेली नागरिक जु लुक ली रहेका छन् ।