Saturday, September 19, 2026
Home समाचार स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले भने : कुकुर र गाई मार्नेलाई...

स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले भने : कुकुर र गाई मार्नेलाई कडा कारबाही हुनुपर्छ

148

१६ भदौ
काठमाडौं । स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले यस्तो ध्यानाकार्षण गराएका हुन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ । हामी यी दुबै घट्नाको घोरभत्र्सना गर्दै दोषीउपर कानून बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानून निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिईने विश्वास दिलाए । पछिल्लो समय पशुमाथि भएको यस्तो निर्दयी र निर्मम घट्नाप्रति पनि उनले दुःख व्यक्त गरे । उनले भने,‘यो घट्नामा संलग्न दोषीमाथि सरकारले कारबाही गर्नुपर्छ । हामी आफ्नो तर्फबाट दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछौं ।’

त्यस्तै, कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घट्नाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । उनले नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्राको रुपमा रहिरहँदा विश्व समुदायसँग गरेका प्रतिवद्धता तथा हस्ताक्षर गरिएका सम्झौताहरुको विपरित हुनेगरि यस्ता किसिमका गैरजिम्मेवार क्रियाकलापहरु हुनुले राज्य संयन्त्रहरुको आपसी तालमेल कतिसम्म धरासयी छ भन्ने प्रष्ट देखिएको सुनाईन् । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दिर्घकालिन समाधानको लागि सरोकारवाला निकायबाट जिम्मेवारपूर्ण पहल हुनुपर्नेमा जोड दिए ।

सामुदायिक कुकुर तथा छाडा पशु चौपायाहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउँदै उनीहरुले आधुनिक विश्व विज्ञान प्रविधिद्धारा यति आधुनिक भईसक्दा पनि साना तिना समस्याहरुको सृजनात्मक, दिर्घकालिन तथा मानवीय समाधान खोज्नुको साटो यस्ता किसिमका अव्यवहारिक र लज्जास्पद निर्णय गर्ने जिम्मेवार निकायहरुले लिनुले सभ्यता विकासको दौडमा आफूहरु निकै पछाडी रहेछौँ भन्ने अनुभूति हुन थालेको प्रतिक्रिया दिएका छन् ।

गुणस्तरिय र वैज्ञानिक भेटेरिनरी विधि तथा प्रविधिको प्रयोगद्धारा छाडा पशु चौपायाहरु तथा सामुदायिक कुकुरहरुको मानवीय र दिर्घकालिन समाधान गर्न सकिने उनीहरुको दाबी छ । छाडा पशु चौपायाहरु त्था सामूदायिक कुकुरहरुको मानवीय र दिर्घकालिन समाधान गर्न राज्य उदासिन रहेको स्नेहाज केयरकी अध्यक्ष श्रेष्ठको गुनासो छ ।

उनले अघि भनेकी छिन्,‘समस्याको व्यवस्थापनका लागी समयमा नै उपयूक्त कार्ययोजना बनाई कार्यान्वयन गर्नुको साटो समस्या बिकराल बनिसक्दा पनि मुकदर्शक बनेर बस्ने अनि जनताको माग सम्बोधन गर्न नसकी अमानवीय र अव्यवहारिक निर्णय गर्ने नियमनकारी निकायप्रति दया लागेर आउँछ ।’

जारी विज्ञप्ती अनुसार एक्काइसौँ शताब्दीमा पनि ढुङ्गे युगको मानसिकता बोकेर हिँडिरहेका नीति निर्माताहरु तथा जिम्मेवार व्यक्तिहरुको प्रशंसाका लागि हामीसँग कुनै शब्द छैन् । उनीहरुले यी यावत समस्याहरु उनीहरुकै कारण त श्रृजना भएको हैन ? भन्ने प्रश्न आम जनमानसमा पैदा भईरहेको छ ।