Saturday, September 19, 2026
Home समाचार प्रहरीद्वारा गोली हानेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र पक्राउ

प्रहरीद्वारा गोली हानेर डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र पक्राउ

164
सांकेतिक तस्विर

भदौ १६
काठमाडौं । प्रहरीले बाँकेमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर पक्राउ गरेको हो । भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो । राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए ।

बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । २०६८ सालमा बर्दियाकोो बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनीहरु फरार थिए ।