विपन्न देशमा सरकारी विलासिता: गाडी र इन्धनमा पाँच वर्षमा ४६ अर्ब खर्च

70

सिंहदरबार बन्यो पुराना गाडीको डम्पिङसाइट
गाडीमा हुने खर्च ६ वर्षमा चार सय गुणा वृद्धि, बिग्रिएका गाडी मर्मत नगरी थन्क्याएर राख्ने र खिया लागेपछि कवाडीमा बिक्री गर्ने प्रवृत्ति

जेठ २५,
काठमाडौं । पूर्वाधारमा निराशाजनक खर्चको परम्परा बोक्दै आएको देशले विलासिताका साधन खरिदमा भने संयम अपनाउन सकेको छैन । सवारीसाधन खरिद, मर्मत र इन्धनमा सरकारले विगत १० वर्षमा करिब ६६ अर्ब र पाँच वर्षयता मात्र ४६ अर्ब रुपैयाँ खर्च गरेको छ ।

नयाँ पत्रिका दैनिक लेख्छ, तर, यसरी खरिद गरिएका गाडीमा खराबी आएपछि मर्मत गर्नुको सट्टा नयाँ खरिद गर्ने र राष्ट्रिय ढुकुटी बेपर्वाह खर्च गर्ने प्रवृत्ति छ ।

अर्थ मन्त्रालयबाट नयाँ पत्रिकालाई प्राप्त जानकारीअनुसार १० वर्षअघि आर्थिक वर्ष ०६८/६९ मा सरकारले इन्धन तथा मर्मतमा दुई अर्ब नौ करोड र नयाँ गाडी खरिदमा ७८ करोड खर्च गरेको थियो । यसरी यो वर्ष सवारीसाधनमा कुल दुई अर्ब ८७ करोड खर्च भएको थियो ।

अर्को वर्ष ०६९/७० मा सवारीसाधनमा तीन अर्ब ५७ करोड खर्च भएको तथ्यांक छ । यसमध्ये दुई अर्ब ४० करोड इन्धन र मर्मतमा तथा एक अर्ब १७ करोड नयाँ गाडी खरिदमा खर्च भएको थियो ।

वर्ष ०७०/७१ मा नयाँ गाडी खरिदको खर्च करिब चार गुणा बढाइएको थियो । यो वर्ष चार अर्ब ५७ करोडका नयाँ गाडी खरिद गरियो भने इन्धन र मर्मतमा तीन अर्ब २० करोड खर्च भयो । यसरी एकैवर्ष सवारीसाधनमा सात अर्ब ७८ करोड खर्च भयो । अर्को वर्ष ०७१(७२ मा कुल खर्च ६ अर्ब ११ करोड भयो जसमध्ये इन्धन तथा मर्मततर्फ तीन अर्ब ४० करोड र नयाँ गाडी खरिदमा दुई अर्ब ७१ करोड खर्च भएको थियो ।

वर्ष ०७२/७३ मा इन्धन तथा मर्मतमा चार अर्ब ११ करोड र नयाँ गाडी खरिदमा दुई अर्ब २१ करोड खर्च भयो, यसरी यो वर्ष सवारीसाधनमा कुल ६ अर्ब ३३ करोड खर्च भयो । वर्ष ०७३/७४ मा यो खर्च दोब्बर भयो । सवारीसाधनमा राज्यले एकैवर्ष ११ अर्ब ४२ करोड खर्च गर्यो । योमध्ये इन्धन तथा मर्मतमा चार अर्ब ७१ करोड र नयाँ गाडी खरिदमा ६ अर्ब ७१ करोड खर्च भएको थियो ।

वर्ष ०७४/७५ मा कुल खर्च १२ अर्ब २३ करोड खर्च भयो । जसमध्ये इन्धन तथा मर्मतमा पाँच अर्ब ५२ करोड र नयाँ गाडी खरिदमा ६ अर्ब ६१ करोड खर्च भयो । त्यस्तै वर्ष ०७५/७६ कुल खर्च १० अर्ब ९४ करोडमध्ये इन्धन तथा मर्मतमा पाँच अर्ब सात करोड र नयाँ गाडी खरिदमा पाँच अर्ब ८६ करोड खर्च भएको थियो ।

त्यस्तै, चालू आर्थिक वर्ष ०७६/७७ मा सवारीसाधनमा पाँच अर्ब ६२ करोड खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । यो वर्ष नयाँ गाडीतर्फ एक अर्ब ३५ करोड र इन्धन तथा मर्मतमा चार अर्ब २७ करोड खर्च हुँदै छ । राज्यको आम्दानी अपेक्षाकृत वृद्धि हुन नसकेपछि विलासी गाडीमा खर्च बढेकाले देशलाई बोझ परेको छ । पछिल्लो ६ वर्षमा सवारीसाधन खरिद, मर्मत र इन्धनमा चार सय प्रतिशतले खर्च बढेको छ । पुराना गाडी थन्क्याएर महँगा गाडी खरिद गर्ने प्रवृत्ति बढेकोमा महालेखा परीक्षकको कार्यालयले टिप्पणी लेख्दै आएको छ ।