Monday, September 28, 2026
Home समाचार मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

142

साउन १४,
काठमाडौँ। मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उहाँले भन्नुभयो ।

यो समयमा वर्षा नै नहुने भने होइन । ‘आइसुलेटेड’ जुन स्थानमा पर्छ । सोही स्थानमा छोटो समयमा भारी वर्षा पनि हुन सक्छ तर त्यसलाई देशव्यापीरुपमा मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् कँडेलको भनाइ थियो । राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुनाका साथै मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रहीे पश्चिमी पहाडी भागका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली हुनाका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै राति पश्चिमी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपाउन आग्रह गरिएको छ ।-रासस