साउन ८,
भक्तपुर । नेपाल सरकारले शिक्षामा अर्बौं रकम लगानी गरिरहेको छ । एकातिर सामुदायिक विद्यायलको शैक्षिकस्तर खस्कदो रुपमा छ । तर भक्तपुरको भक्तपुर नगरपालिकामा वडा नम्बर न. २ खौमामा २०५३ सालमा स्थापना भएको बहु–अपाङ्गता विषेश विद्यालय भने समस्यामा परेको छ ।
दुई वर्षदेखि शिक्षकको तलब सुविधा उपलब्ध हुन नसक्दा स्कुल बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सरकारबाट प्राप्त राहत शिक्षक अनुदान सुविधाबाट वंचित हुँदा भक्तपुरस्थित समुदायमा आधारित पुनःस्थापना केन्द्र (सीबीआर) मा विशेष एवं समावेशी शिक्षा ग्रहण गरिरहेका अपाङ्गता भएका बालबालिकाको भबिष्य अन्यौलमा परेको हो ।
सीबीआरले अपांगता भएकाको लागि भक्तपुरका दुई र मध्यपुर थिमी नगरमा एक गरी तीनवटा विशेष स्कुल सञ्चालन गर्दै आएको छ । उक्त स्कुलमा १५ बहिरा तथा ६३ बौद्धिक, अटिजम र बहुअपांगता भएका गरी ७८ जना अध्ययनरत छन् ।
सीबीआरले शिक्षा विभागबाट २०६१ साल र २०६३ मा एउटा–एउटा र २०६६ सालमा थप ६ वटा गरी आठ वटा प्राथमिक तहको राहत शिक्षकको कोटा प्राप्त गरेको थियो । उक्त कोटाकै एकजना शिक्षकको मृत्यु भएपछि सात मात्र भएको थियो । सीबीआरका संस्थापक अध्यक्ष सूर्यभक्त प्रजापतिले भने ‘अनुदान कोटा शिक्षा विभागको जानकारी र अनुमति विना हामीलाई कुनै किसिमको पूर्व सूचना विना कसरी कसलाई कुन आधारमा वितरण गरियो भन्ने हाम्रो चासो हो ?’तत्कालिन शिक्षा विभागबाट अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि सि.बि.आर. संस्थाको नाममा बहिरा स्रोत कक्षा तथा बहुअपाङ्गता कक्षाका लागि छुट्याइएको विशेष राहत शिक्षक कोटा तथा आयाको कोटा अन्य विद्यालयमा हस्तान्तरण नै हुन नसक्ने उनको भनाई छ ।
माध्यमिक तहसम्मका शिक्षकको जिम्मेवारी र दायित्व नगरपालिकामा गएसँगै आफूहरु भक्तपुर नगर पालिकामा बुझ्न जाँदा सीबीआरमा कार्यरत शिक्षकको दरबन्दी गायब भएको थाहा भएको संस्थापक अध्यक्ष प्रजापतिले बताए । तत्कालीन जिल्ला शिक्षा कार्यालयमा बुझ्न जाँदा भक्तपुर नगरपालिकामा सबै पठाएको जवाफ दिइए पनि भक्तपुर नगरपालिकामा बुझ्न जाँदा सीबीआर र यहाँ कार्यरत सातजना शिक्षक कुनै विवरण नै फेला नपरेको संचालक सदस्य शुरेश प्रधानको भनाई छ ।
जिल्ला शिक्षा कार्यालयले भक्तपुर नगरपालिकामा विवरण नगएको तर विभागबाटै सीबीआरका राहत शिक्षकको दरबन्दी खुलेर नआएकोमा उनीहरुले दुःख व्यक्त गरे ।
हाल शिक्षा विकास तथा समन्वय इकाई बनेको भक्तपुरको तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट सात राहत शिक्षकको कोटा गायब भएको सीबीआरले जनाएको छ ।
भक्तपुरमा रहेको ५९ राहत शिक्षक कोटाभित्रै सीबीआरका सात जनाको पनि विवरण रहेको प्रत्युत्तर दिएको सीबीआरका संयोजक रमेशराम श्रेष्ठले बताए ।

‘तर विभागले भने अनुसार ५९ राहत शिक्षकको दरबन्दीमा शिक्षा कार्यालयको रेकर्डमा सीबीआरका सातजना कतै फेला परेन मात्र होइन कार्यालयमा राहत शिक्षकहरुको नियुक्तिसम्बन्धी कुनै फाइलसमेत फेला परेनको उनले बताए । गत २०७४/०७५ आ.ब.को तथा २०७५ र ७६ वर्ष तथा आगामी शैक्षिक वर्षको शिक्षा विभागबाट प्राप्त अनुदान कोटा अनुसार ७ जना प्राथमिक तहको राहत शिक्षकको अनुदान कोटा तथा १ जना आयाको २ वर्षको बाँकी तलब भत्ता सहित निरन्तर उपलव्ध हुने आवश्यक परिस्थिति निर्माण गरि दिन सम्पूर्ण सरोकारवालामा सीबीआरले अनुरोध गरेको छ ।
भक्तपुर नगरपालिकामा विशेष शिक्षा अन्तर्गत कक्षा १ संचालन गर्ने गरी बहुअपांगता÷बहिरा विशेष विद्यालयको रुपमा दर्ता भएको छ ।
सीबीआरको समस्याबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई जानकारी गराउँदा मन्त्री पोखरेलले २०७५ साल भाद्र २६ गते ‘समस्या समाधान गरिदिने’ भनी तत्कालीन शिक्षा विभागका महानिर्देशकलाई लिखित आदेश दिएको संस्थाले जानकारी दिएको छ । तत्कालीन शिक्षा कार्यालयले च.नं. ८५६ को मिति २०७४/०८/१३ गते भक्तपुर नगरपालिकालाई लेखेको अनुदान दरबन्दी प्रमाणित गरी पठाएको पत्रमा ७ वटा शिक्षकको तलबभत्ता स्थानीय तहबाट व्यवस्था गरिदिनु भनि लेखेको थियो । सबै भन्दा बढी शिक्षाबाट वञ्चित बहिरा एवं बहु–अपाङ्गता र गम्भीर प्रकारको अपाङ्गता भएका बालबालिकाले निर्वाध रुपमा शिक्षा पाउने संविधान प्रदत अनिवार्य एवं समतामूलक शिक्षा पाउने मौलिक अधिकार सुनिश्चित गर्नका लागि सहयोगी सीबीआरको बहुअपांगता ÷ बहिरा विशेष विद्यालयको भबिष्य नै यसबेला अन्यौलमा परेको छ ।














