अब स्कुल बसलाई पनि निर्देशिका

265

चैत १८,
काठमाडौं । सरकारले स्कुल बस सञ्चालनका लागि छुट्टै निर्देशिका जारी गरेको छ । यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकामा स्कुल बसमा अनिवार्य रुपमा पहेँलो रंग पोत्नुपर्ने उल्लेख छ । यस्ता बस अधिकतम् प्रतिघण्टा ४० किमिसम्म मात्रै गतिमा गुड्न सक्ने नयाँ व्यवस्था पनि गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।विद्यार्थी बोक्ने प्रयोजनमा प्रयोग भएका बसको अघिल्लो र पछिल्लो भागमा कालो रंगले स्कुल बस लेख्नुपर्ने प्रावधान निर्देशिकामा छ । अब भाडामा लिएको बसमा भने ‘अन स्कुल ड्युटी’ लखेर चलाउपर्नेछ । स्कुल बसको जाँचपास सार्वजनिक सवारीको मापदण्डअनुसार नै हुनेछ । बसमा स्कुलको नाम, ठेगाना र फोन नम्बर पनि लेख्न अनिवार्य गरिएको छ । १२ वर्षभन्दा माथिको उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न पाउने छैनन् । आपतकालीन ढोकाको व्यवस्था गर्नुपर्ने, बसको झ्यालमा ग्रील अनिवार्य गर्नुपर्ने, अग्नि नियन्त्रक सिस्टम तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, डस्टबिन राख्नुपर्ने, ढोकामा भरपर्दो चुकल प्रणाली जोड्नु पर्ने व्यवस्था पनि निर्देशिकामा छ । त्यसैगरी अब झ्यालको सिसा परादर्शी हुनुपर्ने, प्रवेशद्वारको उचाइ ३ सय मिलिमिटरभन्दा बढी हुन नहुने र झोला राख्न तखेता पनि हुनुपर्ने नियम ल्याइएको छ । बसको सिटहरु सीधा रेखांकन अर्थात अगाडि एकैतर्फ फर्किएको हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । बसमा परिचालकको अनिवार्य व्यवस्था गर्नुपर्ने र धुमपान तथा मध्यपान गर्न नपाइने विषय पनि उल्लेख छ । चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र पनि बोक्नुपर्ने व्यवस्था निर्देशिकामा छ । विद्यालयले अनुभवी चालकको व्यवस्था गर्नुपर्ने र नियमित रुटबाहेकका सडकमा बस चलाउँदा पटके इजाजत लिनुपर्ने नियम पनि छ ।