Friday, September 25, 2026
Home पत्रपत्रिका अधिकांश बस्ती डुबानमा

अधिकांश बस्ती डुबानमा

52
सांकेतिक तस्विर

नेपाल समाचारपत्र
असार २८, सिरहा। दुई दिन देखिको निरन्तर वर्षाका कारण लहानका अधिकांश वस्ती डुबानमा परेका छन् । सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । लहान १ र २ मा रहेका दलित वस्ती डुबानमा परेको छ । डुबानमा परेर ४० घरपरिवार विस्थापित हुन पुगेको छ । लहान स्थित रहेको नहरमा अत्यधिक वर्षाका कारण पानीको चाप बढेपछि नहर भत्केर लहान १ र २ मा रहेका दलित बस्ती डुबानमा परेका हुन् । नहरको किनार र ऐलानी जग्गामा बसोबास गरिरहेका ४० घरपरिवार डुवानमा परेका छन् । उनीहरुलाई लहान नगरपालिका, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र वेस क्याम्प लहानका टोलीले उद्धार गरेका थिए । उद्धार गरिएका ४० घरपरिवारलाई सुरक्षित वास स्थान लहान १ स्थित रहेको श्री जनता आधारभूत विद्यालय मटियर्वामा राखिएका छन् ।

त्यसैगरी पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् । यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ । पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।