Sunday, September 20, 2026
Home पत्रपत्रिका तालको मापदण्ड मिचेर भवन

तालको मापदण्ड मिचेर भवन

210

अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार
मंसिर ३०, पोखरा । फेवातालको मापदण्ड मिचेर तालसँगै जोडेर व्यावसायिक भवन बन्ने क्रम तीव्र बनेको छ। ताल संरक्षणका लागि तालको सीमादेखि ६५ मिटर भित्र कुनै पनि संरचना बनाउन नपाइने मापदण्ड पोखरा महानगरपालिकाले तोकेको छ। व्यक्तिको लालपुर्जाको जमिनमा स्थानीयले तालसँगै जोडेर व्यावसायिक भवन बनाउने क्रम बढेको हो। फेवातालको किनार खपौली क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकको गतिविधि बढेपछि व्यवसायीहरू लगानी गर्न निकै आकर्षित भएका छन्। तालसँगै जोडिएका खाली जग्गा भाडामा लिएर रेस्टुरेन्ट बनाउने क्रम बढेपछि विरोधका स्वर गुञ्जन थाल्यो।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीसम्म मापदण्डविपरीत बनेका संरचना भत्काउन दबाब पुग्यो। अनुमति नलिई मापदण्डविपरीत संरचना बनाएको भन्दै शनिबार पोखरा महानगरपालिकाले फेवाताल किनार खपौदीमा बन्दै गरेको संरचनामा डोजर चलायो। राति पुनः भत्काइएकै स्थानमा संरचना बनाउन थालियो। महानगरपालिकाले आइतबार पुनः डोजर चलाएर बन्दै गरेको संरचना भत्काएको छ। पछिल्लो समयमा बेगनास ताल किनारमा पनि ताल किनारमै भवन बन्ने क्रम बढेको छ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले विधि र नियम मिच्ने छुट कसैलाई नभएकोले तालसँगै जोडेर बनाइएका मापदण्डविपरीतका संरचना भत्काएको बताएका छन्। यसरी मापदण्डविपरीत भवन नबनाउन मेयर जीसीले अनुरोध पनि गरे।

नेपाल प्रहरी, नगरप्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मापदण्डविपरीत बन्दै गरेका तालकिनार खापौदी क्षेत्रका दुई स्थानका संरचना भत्काइएको हो। तालमै जोडेर बनिसकेका दर्जनौं संरचनामा भने नगरपालिकाको डोजर चलेन। पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदी क्षेत्रको तालकिनारमै जोडेर पछिल्लो समयमा व्यावसायिक भवन बन्ने क्रम बढेको सोही वडाका वडाध्यक्ष रणबहादुर थापा बताउँछन्। सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्दै सरकारले व्यक्तिको लालपुर्जाको जमिन ताल संरक्षणका लागि कति आवश्यक पर्ने हो छिट्टै छिनोफानो गरेर आवश्यक जग्गाको मुअब्जा दिनुपर्नेमा उनले जोड दिए। यसो हुन सके मात्र दीर्घकालीन रूपमा समस्या समाधान हुने उनले सुनाए।

पोखरा-१८ खपौदी क्षेत्रमा मापदण्डभित्रै ६० भन्दा बढी संरचना बनेका अध्यक्ष थापाले सुनाए। यो संख्या वर्षौंदेखि ताल किनारमा बस्दै माछा मारेर जीविका चलाउने जलारी समुदायका घर र रेस्टुरेन्ट बाहेकका हुन्। जलारी समुदायको करिब एक सय घर तालकिनारमै छन्।

फेवाताल किनारको मुख्य बजार पोखरा ६ बैदाममा २०४६ सालको राजनीतिक परिवर्तनसँगै तालको मापदण्ड भित्र घर बन्ने क्रम सुरु भएको हो। पछिल्लो समय यो क्रम झन् धेरै बढेर गएको छ। बैदाम क्षेत्रमा पुर्खौँदेखि बस्दै आएका स्थानीयका धेरै घर पनि ६५ मिटर भित्रै छन्। पोखराको फेवाताल मात्र होइन बेगनास ताललगायतका ताल, सेती नदी, बुलौदी, फिर्के खोलालगायतका प्राकृतिक स्रोतहरूको संरक्षण गर्न पोखरा महानगरपालिकाले मापदण्ड तोके पनि कार्यान्वयन गर्न भने असफल रहेको छ।