कान्तिपुर दैनिक
चैत २१, फेटा, बारा — फेटा गाउँपालिका–६ स्थित पुरैनियाका मन्जुर आलम बुधबार मध्याह्न देब्रे खुट्टा समात्दै स्वास्थ्य शिविर चाहर्दै थिए । खुट्टा सुन्निएको थियो । नेसनल मेडिकल कलेज वीरगन्जले लगाइदिएको पट्टी खोल्न उनी स्वास्थ्यकर्मीको खोजीमा थिए । घाउ पाकेको थियो । दुखाइ सहन नसकेर छटपटिएका थिए । शिविर पुगेर स्वास्थ्यकर्मीलाई घाउ सफा गरेर पट्टी फेरिदिन आग्रह गरे । तर स्वास्थ्यकर्मीले मानेनन् । जुन अस्पतालमा उपचार गराएको हो, त्यहीं गएर पट्टी खोल्न भनेपछि उनी निराश हुँदै घरतिर लागे । भत्किएको घर पुगे । चारैतिर नियाले । अस्थायी टेन्टभित्र पुगेर बसे । स्वास्थ्य शिविरमा उपचार नै पाइएन । उनले निराश हुँदै भने, ‘दुखाइ बढेको छ तर अस्पताल पुग्ने आँटै छैन ।’ उनको पीडा अरूको भन्दा भिन्न छ । खाना खानै लाग्दा आएको ठूलो हुरीमा दुई छोरी गुमाए । ३ मिनेटको समयमा आँखै अगाडि बोली रहेका दुई छोरीहरू १८ वर्षीया सवनम र १० वर्षीया रुविको ज्यान गयो । अरू ३ छोरी घाइते छन् ।
‘अकस्मात हुरी आयो, सबै जना एकै ठाउँमा थियौं,’ उनले भने, ‘छिनभरमा घर ढल्यो, को कता पुरियो केही थाहा पाइएन, एकछिन पछि इँटा पन्छाएर हेर्दा २ छोरीको ज्यान गइसकेको थियो ।’ घाइते छोरीहरू उपचार गराइरहेका छन् । आफैंले उब्जाउ गरेको अन्नले वर्ष दिन खान पुग्दैन । अर्काको खेतबारीमा काम गरेर परिवार पाल्दै आएका थिए । परिवार १५ जनाको छ । राहतका रूपमा टेन्ट पाए । परिवार त्यसैमा बसेका छन् । ठाउँठाउँमा राखिएको शिविरमा पुगेर खाने गरेका छन् । मनमा पीडा छ । फेरि हावाहुरी आए कसरी जोगिने भन्ने पीर पनि उस्तै छ । ‘घर भत्किएर सबै सामान पुरियो,’ उनले भने, ‘पकाउने भाँडाकुँडा छैन, लाउने लुगा र ओड्ने ओछ्याउने पनि छैन ।’