Friday, October 2, 2026
Home पत्रपत्रिका रेलमार्ग बन्छ, तर हतारमा होइनः नेपालमा काम कम हल्ला धेरै

रेलमार्ग बन्छ, तर हतारमा होइनः नेपालमा काम कम हल्ला धेरै

149

नयाँ पत्रिका दैनिक
असार १२, काठमाडौं । तिब्बतबाट काठमाडौंसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललाई फेरि सतर्क गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकोमा चीनको गुनासो छ । ५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेल्वे वार्तामा चीनले नेपाली पक्षलाई स्पष्ट पारेको छ– ‘रेल सम्भव छ, तर हतार नगरौँ ।’ नेपालको पक्षबाट भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र चीनबाट त्यहाँको राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुसङले वार्ताको नेतृत्व गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीनको राजकीय भ्रमणमा राष्ट्रपति सी जिनपिङले राजनीतिक प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर, प्राविधिक रूपमा रेलमार्ग निर्माण सहज नभएको भन्दै चिनियाँ पक्षले संयमित भएर काममा ध्यान दिन सुझाब दिएको छ । ‘नेपालबाट वा चीनबाट हुने उच्चस्तरीय भ्रमणका सिलसिलामा आयोजनाको घोषण हुन सक्छ, तर अहिले नै हतार गर्नु उचित हुँदैन,’ चिनियाँ पक्षको भनाइ छ ।

१४ वैशाखमा बेइजिङमा आयोजित बिआरआई फोरमको सम्मेलनपछि ३८ देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएपछि नेपाल सरकार उत्साही भएको हो । सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी थिइन् ।