जेठ २४,
भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्धन्द्धका हत्यामा संलग्न अपराधीहरुलाई छोड्न नहुने बताउनु भएको छ । शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैठो स्मृति सभा तथा छात्रबृत्ति वितरण समारोहमा बोल्दै उहाँले द्धन्द्धका नाममा भएको हत्या घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्ने बताउनु भएको हो ।
उहाँले प्रजातन्त्रिक योद्धा राधेश्याम जोन्छेंमाथि द्धन्द्धका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्ने अपराधीले अहिलेसम्म उन्मुक्ति पाइरहेको भन्दैं कोहीपनि अपराधीलाई कुनै बहानामा छुट दिन नमिल्ने बताउनुभयो । सभापति देउवाले शहिद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उहाँले अबलम्बन गरेको बाटोलाई पछ्याउनु आजको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली काँग्रेस भित्रको गुटउपगुटको अन्त्य गरि एक ढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको भन्दै यसमा पार्टी सभापति अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं. ३ का प्रदेश सदस्य रजनी जोन्छे लगायतले शहिद जोन्छेंको योगादानलाई पार्टी र देशले बिर्सन नहुनेमा जोड दिनुभयो ।