काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेश सभामा रहेका राप्रपाका सांसद जानकी प्रसाद यादव निलम्बित भएका हुन् ।
राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ क बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो।
उनीमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गरेको सूचनामा अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको अवस्थामा मुद्धाको किनारा नलागेसम्मको लागि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति उपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुन बमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ,’ भन्ने व्यवस्था छ। सोहि ऐनको दफा ३३ मा निजउपर दफा ३६ ले मुद्दा दायर भएकोमा त्यस्ता राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने उल्लेख छ।