Saturday, September 26, 2026
Home पत्रपत्रिका हुलाकी सडकका नाममा राप्ती दोहन

हुलाकी सडकका नाममा राप्ती दोहन

233

नागरिक दैनिक- बैशाख १५,
नेपालगन्ज । जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५र५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।
ट्रिपरले बोकेर डम्पिङ गरेको ढुंगा, गिटी र बालुवा सोही क्रसरबाट प्रशोधन गरिन्छ। हुलाकी सडकका लागि ठेकेदारलाई निर्माण सामग्री कति आवश्यक छ ? अहिलेसम्म कति परिमाणको सामग्री उत्खनन भएको छ ? यसबारे कुनै लेखाजोखा छैन। तर नदीबाट उत्खनन भइरहेको निर्माण सामग्री हुलाकी सडकका नाममा अन्यत्रै आपूर्ति भइरहेको स्थानीय बासिन्दा बताउँछन्।

बर्सेनि बाढीको चपेटामा पर्दै आएका स्थानीय बासिन्दा दिनरात नदीमा जथाभाबी दोहन हुँदा चिन्तामा परेका छन्। दिनरात मेसिन लगाएर नदी दोहन भइरहेको राप्तीसोनारी–२, टिकुलीपुर निवासी मैमकला रानाले बताइन्। गत साउन अन्तिम साता आएको बाढीले महिनौंसम्म विस्थापित भएकी उनी अहिले नदी दोहान भइरहँदा फेरि बाढीले सताउने हो कि भन्ने चिन्तामा छिन्। क्रसर उद्योग सञ्चालकले गुन्डा राखेर स्थानीय बासिन्दालाई डरधम्की देखाएर नदी दोहन गरिरहेका छन्।
‘मान्छेले गरेका गल्तीका कारण हरेक वर्ष हामीलाई बाढीले सताउँछ,’ उनले भनिन् ‘ठूला मान्छे आएर जथाभाबी दोहन गर्छन्, नदीले धार परिवर्तन गर्छ, त्यसपछि बर्खामा आउने बाढीले हामी गरिबको उठिबास लगाउँछ।’