नयाँ पत्रिका/शान्ता कमली
माघ १५, लमजुङ । क्होलासोँथार गाउँपालिका–१, बाग्लुङपानीका १७ परिवार विस्थापित हुने भएका छन् । ४० वर्षदेखि विद्यालयको जग्गामा वार्षिक भाडा तिरेर बस्दै आएका १७ परिवारलाई गाउँपालिकाले हटाउने तयारी गरेको हो । व्यवस्थित पूर्वाधार र संरचना भए पनि गाउँका कसैको पनि लालपुर्जा छैन । उनीहरू विगत ४० वर्षदेखि जनज्योति माविलाई कर तिरेर बस्दै आएका छन् । जग्गा आफ्नो नाममा आउँछ कि भनेर लामो सयमसम्म विद्यालयको जग्गामा बसे पनि लालपुर्जा नपाएको गुनासो स्थानीय कालबहादुर गुरुङले गरे । ‘हामी ४० वर्ष लालपुर्जाविहीन भएर बस्यौँ,’ गुरुङले भने, ‘गाउँपालिकाले अन्यत्र सार्दा बसोवासको राम्रो व्यवस्था गरिदिन्छ भन्ने आश गरेका छौँ ।’
बस्ती पारासिङमा सार्ने तयारी
बाग्लुङपानीको बस्तीलाई नजिकैको पारासिङमा पुनस्र्थापना गर्ने तयारी गाउँपालिकाले गरेको छ । यस विषयमा छलफल भइरहेको क्होलासोँथार–१ अध्यक्ष पेमा गुरुङले बताए । ‘सबै १७ घर पारासिङमाको सार्वजनिक जग्गामा सार्ने विषयमा छलफल भइरहेको छ,’ गुरुङले भने, ‘विद्यालयको जग्गा जग्गा खाली गर्न हामीले सम्बन्धित परिवारलाई आग्रह गरेका छौँ । बस्तीलाई नजिकैको सार्वजनिक जग्गामा स्थानान्तरणको पहल भइरहेको छ ।’ बाग्लुङपानीमा पहिला होटेल व्यवसाय राम्रो चल्थ्यो । तर, अचेल सडकमार्ग बनेपछि पर्यटक सीधै घलेगाउँ जान थालेपछि व्यवसाय पनि चल्न छाडेको स्थानीय सूर्यकुमारी गुरुङले बताइन् । त्यहाँ बसोवास गर्ने सबै व्यवसायी हुन् । ‘पहिले व्यवसाय पनि राम्रै चलेको थियो, आम्दानी पनि हुन्थ्यो’ गुरुङले भनिन्, ‘अहिले व्यवसाय पनि छैन, पर्यटक पनि आउँदैनन्, जग्गाको भाडा तिर्ने रकम पनि हुँदैन ।’