सूर्यविनायकमा विकाशका कुराः पुष्पराजको नेतृत्वमा फेरिएको वडा

5

भक्तपुर । युवा सोच बोकेर नेतृत्वमा आएका सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले पछिल्ला चार वर्षमा वडाको विकाशमा महत्वपूर्ण भूमिका खेलेका छन् । बस्नेतको पछिल्लो कार्यकालमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा उल्लेख्य प्रगति भएको स्थानियको भनाई छ । साविक सिपाडोल गाविसका ९ वटै वडा समेटिएको वडा नं। ८ क्षेत्रफल र जनसंख्याका आधारमा भक्तपुरको दोस्रो ठूलो वडा मानिन्छ । पश्चिममा गणेशस्थानदेखि पूर्वमा बनेपा नगरपालिकासम्म फैलिएको यस वडामा भौगोलिक र सामाजिक विविधता रहेको छ । नेवार, तामाङ, बाहुन, क्षेत्री, दलित लगायत विभिन्न समुदायको बसोबास रहेको यस क्षेत्रमा पछिल्लो समय कृषि पेशाबाट व्यापार–व्यवसायतर्फ आकर्षण बढ्दो क्रममा रहेको वडा अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

स्वास्थ्य र शिक्षामा सुधार

वडामा नगर अस्पताल सञ्चालनमा रहेको छ, जहाँ ओपिडी भवनलगायत पूर्वाधार विस्तार गरिएको छ । पाटीभञ्ज्याङमा सहरी स्वास्थ्य चौकी निर्माण भइसकेको छ भने नयाँ भवन निर्माणपछि स्थानान्तरणको तयारी भइरहेको छ ।
शिक्षा क्षेत्रमा गणेश माध्यमिक विद्यालय र शान्ति निकेतन माध्यमिक विद्यालयमा भवन स्तरोन्नति गरिएको छ । दुबै विद्यालयमा विद्यार्थीका लागि सवारी साधनको व्यवस्था गरिएको छ भने शिक्षकहरूलाई तालिममार्फत शिक्षाको गुणस्तर सुधारमा जोड दिइएको छ । हाल ती विद्यालयहरूमा करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् । साथै डोलेश्वर, सरस्वती र आशापुरी प्राथमिक विद्यालयमा समेत पूर्वाधार र प्रविधि विस्तार गरिएको छ ।

पूर्वाधार विकासमा तीव्रता
वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार निर्वाचित भएपछि जनताको मागअनुसार भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । तीनै तहका सरकारको समन्वयमा सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइएको छ । डोलेश्वर–पाटीभञ्ज्याङ सडक र नैचाल क्षेत्रका सडक निर्माण कार्य जारी छन् भने वडा कार्यालय जाने १२ मिटर चौडाइको सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । डोलेश्वर मन्दिर क्षेत्रको पूर्वाधार विकास, विभिन्न स्थानमा मर्मत सम्भार तथा तीन वटा पुल निर्माण ९एक निर्माणाधीन० सम्पन्न गरिएको छ । खानेपानी व्यवस्थापनतर्फ ‘एक घर एक धारा’ अभियान बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेको छ ।

लक्षित वर्ग केन्द्रित कार्यक्रम
जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि छुट्टै समिति गठन गरी बजेट विनियोजन गरिएको छ । निशुल्क मोबाइल तथा सिम वितरण, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श र अन्य सहायतामूलक कार्यक्रमहरू सञ्चालन गरिएको वडाले जनाएको छ ।
हाल सडक कालोपत्रे, थप पुल निर्माण तथा खानेपानी आयोजनाहरू अन्तिम चरणमा पुगेका छन् । वडाध्यक्ष बस्नेतका अनुसार अधिकांश प्रतिबद्धताहरू पूरा भइसकेका छन् भने बाँकी योजनाहरू पनि कार्यान्वयनको क्रममा रहेका छन् ।

सामाजिक–आर्थिक सशक्तीकरण

वडाले युवा तथा महिलालाई लक्षित गरी सीपमूलक तालिमहरू सञ्चालन गरेको छ । कुक, बारिस्टा, ड्राइभिङ, नेतृत्व विकास र उद्यमशीलता तालिममार्फत स्वरोजगार प्रवद्र्धन गरिएको छ । ५० प्रतिशत अनुदानमा इन्डक्सन चुलो वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । ‘उद्योग घर’ अवधारणाअन्तर्गत पूजा सामग्री उत्पादन तथा बजारीकरणको प्रयास भइरहेको छ भने डोलेश्वर क्षेत्रमा ‘कोसेली घर’ स्थापना गरी स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग गरिएको छ । कृषिमा अनुदान तथा पशुपालन सुधार कार्यक्रम सञ्चालनसँगै माथिल्लो क्षेत्रमा होमस्टे प्रवद्र्धनमा समेत सहयोग गरिएको छ ।