थिमिमा चोर्न गएका भक्तपुर कमलबिनायक बस्ने ४ जना पक्राउ

93

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले चोरी तथा लुटपाटमा संलग्न र फरार कैदी बन्दीहरु सहित ६ जना मानिसलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यपुरथिमी नगरपालिका वडा नं. ९ निकोसेरा ढुङ्गेधाराका कृष्ण भक्त काशुलाको घरमा लुटपाटको भएको थियो । घरको झ्यालबाट दुई जना अपरिचित मानिसहरु प्रवेश गरी घरधनी काशुलाको टाउकोमा दाउराको चिरपटले प्रहार गर्दा घाईते भई हाल काठमाडौ मेडिकल कलेज सिनामंगल उपचार भैरहेको छ । सो घटनाको सम्बन्धमा प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटना संलग्न भएको आरोपमा
४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुका अनुसार काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं. ३ घर भई हाल जिल्ला भक्तपुर कमलविनायक बस्ने बर्ष २७ को बिक्रम थापा, रोशी गाँउपालिका वडा नं. १ घर भई सोही स्थान बस्ने वर्ष ३० राम बहादुर तामाङलाई पक्राउ गरिएको छ ।

रोल्पा परिवर्तन गाँउपालिका वडा न. ४ घर भई हाल जिल्ला भक्तपुर कमलविनायक बस्ने वर्ष ४३ को लोकेन्द्र पुन र उदयपुर बेलटार घर भई हाल जिल्ला भक्तपुर कमलविनायक बस्ने वर्ष ४० को राजु राईलाई समेत पक्राउ गरिएको डिएसपी जबेगुले जानकारी दिए । यस “सम्बन्ध थप अनुसन्धान समेत भई रहेको छ,” डिएसपी जबेगुले भन्नूभयो । आरोपी थापा र तामाङ बिगतमा पनि चोरी, लुटपाट र लागू औषध अपराधमा संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

साथै, जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त थिमि भक्तपुरको हिरासत कक्षबाट फरार भएको विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरका जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. २ गोल्छे घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने बर्ष ३० को निकेश राउतलाई प्रहरीले पक्राउ गरेको छ । सोही आन्दोलनमा विभिन्न कारागारबाट फरार भएका थप १ जना कैदी बन्दीलाई समेत पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।