भक्तपुर । सुर्यविनायक नगरपालिका–४ दधिकोट क्षेत्रका सरोकारवाला निकायहरू पछिल्लो समयमा चोरी तथा अन्य आपराधिक गतिविधिहरू तीव्र रुपमा बढ्न थालेपछि सक्रिय भएका छन् । चोरी नियन्त्रण तथा सुरक्षाको सुदृढीकरणका लागि वडा कार्यालय, सुरक्षा निकाय र स्थानीय समुदायले संयुक्तरुपमा गम्भीर पहल थालेका हुन् ।
वडा अध्यक्ष लछुराम न्यौपानेका अनुसार, चोरी र सडक दुर्घटनाजस्ता घटनाहरू न्युनिकरण गर्न वडा नं. ४ मा एक सय ६० स्थानमा सडक बत्ती जडान गर्ने तयारी गरिएको छ । साथै हर्षचौक, दक्षिणकाली, गाम्चा, दधिकोट लगायतका मुख्य स्थानहरूमा यसै आर्थिक वर्षभित्र सिसीटिभी जडान गरिने जानकारी पनि उनले दिए ।
चोरी नियन्त्रणका लागि प्रहरीले पनि गस्ती कडा बनाएको छ । प्रहरी वृत्त ठिमीका प्रमुख डिएसपी नवराज ढुंगानाले दधिकोट क्षेत्रमा चोरीका गुनासो बढेसँगै सुरक्षात्मक उपायहरू तीव्र बनाइएको बताए । उनका अनुसार रातको समयमा साधा पोशाकमा समेत सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । उनले सामुदायिक सहयोग र प्रहरीको साझा प्रयासबाट मात्र समाजमा शान्ति र सुरक्षा स्थापना गर्न सकिनेमा जोड दिए ।
प्रहरी बृत्त थिमिसंगको सहकार्यमा शनिबार शंकर स्कुलमा ॐ सृजनशील समाज क्लबद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रहरी वृत्त ठिमी र अन्य सुरक्षा निकायको समन्वयमा दधिकोट क्षेत्रका विभिन्न टोलमा बढ्दै गएको चोरी र अपराध नियन्त्रणका उपायबारे केन्द्रित थियो । कार्यक्रममा प्रहरी स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार, उद्योगी र स्थानियबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा शसस्त्र प्रहरीका एसपी चेतराज जोशीले सुरक्षा निकाय र नागरिकबीचको सहकार्यबाट मात्र आपराधिक गतिविधि नियन्त्रण सम्भव हुने धारणा व्यक्त गरे । उनले आफूपक्षबाट सक्दो प्रयास गरिने स्पष्ट पारे
दधिकोट शहरी खानेपानीका अध्यक्ष कृष्णहरी खड्काले पछिल्लो एक महिनामै वडाका १६० घरका खानेपानी मिटर चोरी भएको जानकारी दिए । एकै दिनमा १० वटासम्म मिटर चोरी भएको घटनाले अवस्था चिन्ताजनक बनाएको उनले बताए ।
राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले दुई साताको अवधिमा चोरीका घटना व्यापक रूपमा बढेको उल्लेख गर्दै चोरी नियन्त्रणका लागि समुदाय स्वयं सचेत र सक्रिय हुनुपर्नेमा जोड दिए । सिसीटिभी, अर्लाम सिस्टम र वडागत सुरक्षा समूह गठन जस्ता उपायहरू तत्काल अपनाउनु उपयुक्त हुने आचार्यको भनाई छ ।
क्लब अध्यक्ष अर्जुन केसीले आफ्नो घरमै पनि चोरी भएको उल्लेख गर्दै, हर्षचोक क्षेत्रको एक पसलबाट दुई लाख रुपैयाँ चोरी भएको र दिनदहाडै मोटरसाइकल चोरीजस्ता घटना हुँदा पनि चोर फेला नपरेकोप्रति चिन्ता व्यक्त गरे । उनले समूहगत पहलबिना चोरी नियन्त्रण असम्भव रहेको बताए ।
सुरक्षाका विषयमा सरोकारवालाहरू एकमत देखिए । भने – ‘राज्यका सुरक्षा संयन्त्र र नागरिक समाजको साझा जिम्मेवारीबिना चोरी नियन्त्रण सम्भव छैन ।’ यसका लागि सडक बत्ती, सिसीटिभी, गस्ती, र जनचेतना अभियानहरूलाई एकैसाथ अगाडि बढाउनुपर्ने आवाज कार्यक्रमबाट उठेको छ ।