कोरोनासँग नडराएको युरोपको एकमात्र देश

251

चैत १४
बेरारुस । केही दिन यता, कोरोनाभाइरसको संक्रमणले युरोपका कयौँ मुलुक नराम्ररी प्रभावित भएका छन् । पछिल्लो समय युरोपलाई नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ भन्न थालिएको छ । किनकि, युरोपमै कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानवीय क्षति भएको छ । यसका बाबजुद युरोपको एउटा मुलुक भने कोरोना संक्रमणबाट रत्तिभर प्रभावित तथा विचलित देखिएको छैन । आफ्नो निकट छिमेकी मुलुक रुस र युक्रेन कोरोना संक्रमणका कारण नराम्ररी प्रभावित भइसक्दा पनि बेलारुस भने सामान्य दैनिकीमै छ । जबकि रुस र युक्रेनले कोरोना संक्रमण रोक्नका लागि कडा प्रतिबन्धका कार्यक्रम लागू गरिसकेका छन् ।

युक्रेनले चाँडै नै कोरोना रोकथामका लागि आपतकाल घोषणा गर्ने भएको छ । रुसले सबै विद्यालय तथा कलेज बन्द गरिसकेको छ भने सार्वजनिक कार्यक्रममा रोक लगाइसकेको छ । बेलारुस भने सामान्य अवस्था मै छ । बेलारुसको सबै सीमा खुला छन् भने मानिसहरु नियमित काममा व्यस्त छन् । त्यहाँ खाद्यान्न तथा अत्यावश्क सामान किन्न मानिसहरुको घुइँचो पनि छैन, मानौं सबै कुरा सामान्य नै छ ।

‘आतङ्कित हुन जरुरी छैन’

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले तत्काल बेलारुसमा कोरोना संक्रमण रोकथामका लागि भन्दै कडा कदम चाल्न आवश्यक नरहेको बताएका छन् । मंगलबार चीनका राजदूतसँग छलफलपछि उनले भने, ‘घटनाहरु भइरहन्छन्, त्यसलाई लिएर मानिस आतङ्कित नहोउन् भन्ने जरुरी हुन्छ ।’ एजेन्सी