काठमाडौँ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको नेपाल सरकारले बताएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको भन्दै वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने कार्य हाललाई स्थगन गरिएको जनाएको हो ।
‘पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना हुने र पैसा कमाउनतर्फ लागेर अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘काम पाउन नसकेकाहरू मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेका छन्, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी भर्ना भएकाले समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कोरिया अध्ययन गर्न जाने व्यवस्थामा नियमन गर्नु आवश्यक देखिएकाले एनओसी वितरण स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ । यसको नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिसका आधारमा थप निर्णय गर्ने गरी हाललाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्ये १० औं मुलुकभित्र पर्छ । गत आर्थिक वर्षमा ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । त्यतिबेला १ लाख १२ हजार ५ सय ९३ जना विद्यार्थीले विदेश पढ्न जान एनओसी लिएका थिए ।