जनमत र नागरिक उन्मुक्तिबीच वैशाख १७ गते एकता हुने

19

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकीकरणै हुने भएको छ । जनमतका प्रवक्ता डा। शरदसिंह यादवले शनिबार सूचना जारी गरेर नागरिक उन्मुक्तिसँग एकीकरणका लागि वैशाख १७ गते घोषणा सभा आयोजना गरिने जनाएका छन् । जनमतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुने एकीकरण घोषणा सभामा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूलाई उपस्थित हुन भनेको छ ।

जनमतले घोषणा सभाको अघिल्लो दिन बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ । मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा वैशाख १६ गते बेलुकी ६ बजे बस्ने बैठकमा सहभागी हुन आउँदा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर आउनु पर्ने प्रवक्ता यादवले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन २०७९ बाट उदाएका दुई दलबीच हुने एकताले नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।