एमाले र कांग्रेसको सांसदहरूलाई ह्विप

8

काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन् । बुधबार बस्ने बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गर्न लागेपछि सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो । यता सत्ता साझेदार दल कांग्रेसले पनि ह्विप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई उपस्थित हुन भनिएको एमालेका एकजना सांसदले बताए । सरकारले सदन सुरु हुन दुई साताअगाडि जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम नपुगेका कारण अहिलेसम्म पेश हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश हुँदै छन् ।

सन्देशमा भनिएको छ, ‘माननीय सदस्यहरू, भोलि १ बजे बस्‍ने प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध छ। मुख्य सचेतक ।’ यसैगरि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सबै सांसदहरूलाई मोबाइल फोनमा सन्देश ९म्यासेज० पठाएर संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् ।
‘फागुन २१ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ कांग्रेस सांसदहरूलाई पठाइएको सन्देशमा भनिएको छ ।