ख्वप विश्वविद्यालय देशकै आवश्यकता हो: अध्यक्ष बिजुक्छेँ

39

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे रजत जयन्ती, ख्वप कलेजको २३ औं, शारदा क्याम्पस मा.वि.को १७ औ“ र ख्वप कलेज अफ ल को दोस्रो वार्षिक उत्सव कार्यक्रम शुक्रबार उद्घाटन गर्नुभयो । वार्षिकोत्सवकै अवसरमा अध्यक्ष बिजुक्छेँले कलेजद्वारा प्रकाशित ‘ख्वप जर्नल’ पुस्तक सार्वजनिकीकरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता भएको बताउनुभयो ।मानव सभ्यताको विकास नगर राज्यबाटै भएको बताउँदै उहाँले रोम र ग्रीस नगर राज्यमा स्थापित विश्वविद्यालयहरूबाट मानव सभ्यतामा शिक्षाको धेरै ठूलो महत्व रहेको पुष्टि हुन्छ भन्नुभयो । ख्वप विश्वविद्यालय सञ्चालनले गरिब जनताका छोराछोरीहरुले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्राप्त गर्ने बताउँदै ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी हुन प्रेरित गर्नुपर्ने बताउँदै सत्य र सही कुरामा अडान लिने नयाँ तयार गर्नु आजको आवश्यकता हो भन्नुभयो ।

विद्यालय र कलेजहरुले सांस्कृतिक गतिविधि र खेलकुदलाई शिक्षा र संस्कृतिको अभिन्न अंगको रुपमा विकास गर्दै आएको सकारात्मक विषय भएको बताउँदै उहाँले अबको दश वर्षभित्र भक्तपुरका एक तिहाइ जनता सांस्कृतिक रुपमा धेरै अगाडि बढ्ने बताउनुभयो । खेलकुद देशको राजनीति, शारीरिक व्यायाम र देश जोगाउने माध्यम पनि भएको बताउँदै खेलकुदको निम्ति विद्यार्थीहरुलाई उत्साहित गर्नु आवश्यक भएको उहाँले बताउनुभयो ।सिंहदरबारमा देशभरका बाँदरहरू आएर शासन गरिराखेकोले देशले यो दुर्गति भोग्नुपरेको बताउँदै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय आवश्यक छैन, स्वीकृति दिनुहुन्न भन्ने शासक र बुद्धिजीवीहरु प्रजातन्त्र विरोधी हुन् बताउनुभयो । ख्वप मा.वि., ख्वप कलेज, ख्वप कलेज अफ ल सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु देशकै नमुना शैक्षिक संस्थाहरुको रुपमा विकास भइरहेको बताउनुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सहयोग (एमसीसी) लिनेहरूलाई ‘ठग’को संज्ञा दिएको बताउँदै उहाँले ट्रम्पको उक्त अभिव्यक्तिसँगै नेमकिपाले एमसीसी सम्झौता खारेज गर्न गरेको विरोधले आज सार्थकता पाएको बताउनुभयो ।

गुणस्तर सुनिश्चितता एवम् प्रत्यायन (क्यु.ए.ए.) कै कारण ख्वप कलेजले चाहेर पनि विद्यार्थीको चाहनाअनुसारका नयाँ नयाँ विषय थप गर्न नसकिएको बताउँदै उहाँले विद्यार्थीहरुले नेपालमा आफ्नो रुचिअनुसारको अध्ययन गर्न नपाउँदा र योग्यताअनुसारको रोजगारी सुनिश्चितता नहुँदा विद्यार्थीहरुले विदेशलाई आफ्नो गन्तव्य बनाइरहेका छन् भन्नुभयो ।

बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले २५ वर्षको अवधिमा कलेजले हासिल गरेको सफलता उल्लेखनीय रहेको बताउँदै कलेजमा अध्ययनरत सबै विद्यार्थीहरुको समान ढंगले व्यक्तित्व विकास गर्नेतर्फ शिक्षकहरुले जोड दिनुपर्ने बताउनुभयो । विद्यार्थीहरुको विश्वास र सद्भाव जित्नु आफैमा चुनौतीपूर्ण रहेको बताउँदै उहाँले विद्यार्थीलाई पाठ्यपुस्तक मात्र पढाउने भन्दा पनि उनीहरुमा भएका अन्तरनिर्हित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रफुटन गर्न सहयोग गर्ने दायित्व शिक्षकहरुको हो भन्नुभयो । सांसद गोसाईले शहिदको बलिदानबाट सरकारमा पुगेका शासकहरुले शहिदहरुकै अपमान र प्रजातन्त्रविरोधी कामहरु गरिरहेको बताउँदै शासकहरुले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन नसक्नु बिडम्बनापूर्ण भएको बताउनुभयो ।

त्यस्तै वार्षिकोत्सवको अवसर पारेर ख्वप मावि र ख्वप कलेजमा दस वर्ष सेवा अवधि पूरा गर्ने शिक्षक तथा कर्मचारीहरुलाई कदर पत्र, २५ वर्ष सेवा पूरा गरेका शिक्षक कर्मचारीहरुलाई दीर्घ सेवा पदक र विद्यावारिधी गरेका शिक्षकहरुलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा हाट बजार, खेलकुद प्रतियोगिता र सांस्कृतिक प्रतियोगिता समेत गरेको थियो ।