पेट्रोलियम पाइपलाइन परियोजना दोस्रो चरणः ८० प्रतिशत निर्माण कार्य सकियो,फोटो फिचर

123

हेमराज ढकाल
काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना वि.स २०७६ सालमा सम्पन्न भएको थियो । त्यसयता नेपालमा पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । भारतको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यसको कूल ३३ किलोमिटर भारत र ३६ दशमलव २ किलोमिटर नेपाली भूमिमा पर्छ । पाइपलाइनको क्षमता वार्षिक करिब २५ लाख किलोलिटर रहेको छ । सन् २०१५ मा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता भएको थियो ।

भारतको मोतिहारी हुदैं नेपालको अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । दोस्रो चरण पुरा भएपछि डिजेलका साथै पेट्रोल र मट्टितेल पाइपलाइनबाट आयात गरिने नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज प्रमुख विनितमणि उपाध्यायले बताए । हाल निर्माण कार्यको करिब ८० प्रतिशत काम सकिएको छ, आगामी तीन महिना भित्र पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको उपाध्यायले जानकारी दिएका छन् । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ ।

दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वेलगायत भौतिक संरचनाको निर्माण भइरहेको छ । अहिले भने ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाका लागि नेपालको आयाल निगम र आइओसीले संयुक्त रूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो । जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक–एकवटा ट्याङ्कको लागत व्यहोर्ने र मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुने, कार्यालय प्रमुख उपाध्यायले बताए । यसकोलागि आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ । दोस्रो चरणको परियोजनाको सम्पूर्ण खर्च करिब दुई अर्ब १५ करोड भारतीय रुपैयाँ रहेको छ ।


परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य रहेको निगमको अमलेखगञ्ज कार्यालयका प्रमुख विनितमणि उपाध्यायले बताए । डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा दुई सय ५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको छ ।

एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मट्टितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्याङ्क निर्माण गरिएको निगमका इञ्जिनियर प्रशान्त भट्टराईले जानकारी दिएका छन् ।
परियोजनाको काम तोकिएका समयमै सम्पन्न गर्न रात्री समयमा पनि काम हुदैं आएको छ । त्यसैले करिब ८० प्रतिशत काम सकिएको निगमका इञ्जिनियर भट्टराईले बताए ।

नेपाललाई करोडौं फाइदा

नेपालमा भण्डारण गर्ने क्षमता कम हुँदा अहिले पेट्रोल र मट्टितेल आयात भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ । यसका साथै ढुवानी भाडा बचत, प्रदूषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चिता र समयको बचतलगायत फाइदा हुनेछ ।

यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने निगमले जनाएको छ । परियोजना सम्पन्न भएपछि पेट्रोलियम पदार्थको सुनिश्चित आपूर्ति संयन्त्रको व्यवस्था हुनेछ ।
दोस्रो चरणको परियोजना निर्माण भएपछि समग्ररुपमा मुलुकलाई नै फाइदा पुग्ने निगमले जनाएको छ । अहिले बरौनीदेखि काठमाडौँसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर करिब छ रुपैयाँ ढुवानी खर्च थपिएको छ । ढुवानी, इन्धन, चालक सहचालकको खर्चलगायत धेरै खर्च जोगिदाँ नेपाललाई वार्षिक रुपमा करोडौं फाइदा हुने अमलेखगञ्ज कार्यालयका प्रमुख उपाध्यायले बताए ।
अमलेखगञ्जसम्म पाइपलाइनमा पेट्रोल ल््याएर अन्य भूभागमा पठाउँदा ढुवानी खर्च आधा घट्ने अनुमान गरिएको छ । भारतको बरौनी डीपो नेपालको वीरञ्गजबाट करिब तीन सय किलोमिटर टाढा छ ।

पाइपलाइनबाट पेट्रोल र मट्टितेल आउन थालेपछि बरौनीबाट काठमाडौँसम्मको ढुवानी भाडा आधा बचत हुने अवस्था छ । निगमको बचत हुनु भनेको समग्रमा मुलुककै बचत हुनु हो, उपाध्याय भने । पाइपलाइन नहुँदा डिजेल लिनका लागि भारतको बरौनीसम्म ट्याङ्कर पठाउनुपथ्र्यो । ट्याङ्करबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हड्ताल लगायतले समस्या हुने गरेको थियो । पाइपलाइन निर्माण सम्पन्न भएपछि सहजरुपमा आफ्नै देशमा निगमको डिपोमा पेट्रोलिमय पदार्थ आयात हुनेछ, प्रमुख उपाध्यायले भने ।

पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेस प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ । मुलुकभरको मागको करिब ७० प्रतिशत डिजेल अमलेखगञ्ज डिपोले आपूर्ति गरिरहेको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा प्राविधिक क्षति शून्य हुने गरेको निगमको भनाइ छ । यसबाट वार्षिक करिब १५ करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ । पाइप लाइनबाट डिजेल आयात हुन थालेपछि ढुवानी भाडाबापतको बर्सेनि रु दुई अर्ब जोगिएको छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । नेपाल सरकारले कम्तीमा तीन महिनाको माग धान्ने गरी भण्डारण क्षमता विस्तार गर्ने नीति लिएको छ ।

विसं २०७६ भदौ २४ गते परियोजनाको औपचारिकरुपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएसंगै नेपाल भारतको सहमति अनुसार चितवनको लोथरसम्म पेट्रोलियमको विस्तार हुनेछ । त्यसकोलागि समेत कार्य अगाडी बढेको नेपाल आयाल निगमले जानकारी दिएको छ ।