रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

17

काठमाडौँ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन्। मंगलवार काठमाडौँमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजस्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताए।

उनले सरकारले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजस्व र विदेशी सहयोगलाई मात्रै केन्द्रबिन्दुमा राख्न नहुने चर्चा गरे। परराष्ट्रमन्त्री श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवर्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको दाबी गरे। उनले त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा जोड दिए। उनले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकास र व्यापार घाटा कम गर्न आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए। उनले सरकारले उत्पादन, रोजगारीमा वृद्धि, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्धनमा जोड दिने बताए। श्रेष्ठले भने, ‘हामीले तीनवटा कुराबाट राज्य चलाउने विषय अन्त्य गर्नुपर्छ। एउटा रेमिट्यान्सको आधारमा अर्थतन्त्र चलाउने सोच, भन्सार राजस्वको आधार मान्ने सोच र विदेशी सहयोगलाई केन्द्रबिन्दुमा राखेर देश चलाउँछु, भन्ने सोच गलत हुन्छ। कहिल्यै विकास हुन सक्दैन। आर्थिक समृद्धि हासिल गर्न सक्दैन। हामीले गर्नुपर्ने पुँजी वृद्धि नै हो। पुँजीगत खर्च कार्यान्वयन वृद्धि नै हो। निर्यात प्रवर्धन सहित व्यापार घाटा कम गर्नुपर्ने आवश्यकता छ।’