वामपन्थी एकताको ढोका खुल्यो:वामदेव गौतम

21

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजकाम वामदेव गौतम एकाएक नयाँ सत्ता समीकरण निर्माणपछि उत्साहित भएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्र नेकपा एमालेसँगको गठबन्धनमा आउनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य भएको उनले प्रतिक्रिया दिए। तत्कालीन नेकपा विभाजन भएयता निरन्तर पुनः एक हुनुपर्ने पक्षमा उभिँदै आएका नेता गौतमले थाहाखबरसँग भने, ‘जसरी नेपालको राजनीतिमा एकाएक नयाँ परिवर्तन आएको छ, यो अत्यन्तै सकारात्मक विषय हो। देशभरका जनताले चाहेको यही हो। वामपन्थी सहकार्य र एकता नै हो।’यसैबाट फेरि वामपन्थी एकताको ढोका खुलेको नेता गौतमको विश्वास छ। राष्ट्रियसभा सदस्यसमेत रहेका उनले आफू नेतृत्वको अभियानले यसलाई स्वागत गरेको बताए। ‘यसलाई नेकपा एकता राष्ट्रिय अभियानले स्वागत गरेको छ। यसले पक्कै पनि सकारात्मक परिणाम दिनेछ। अब अहिलेको यो जुन सुरुवात भएको छ, यसले फेरि कम्युनिष्टहरूलाई पक्कै पनि एकतासम्म लैजान्छ भन्ने विश्वास छ। यसले कम्युनिष्टहरूको एकताको ढोका खुल्ला गरेको छ।’