कम्युनिष्ट धारको सरकार बनाउने एमाले, माओवादीको तयारी

31

काठमाडौं । कम्युनिष्ट धारको सरकार बनाउने नेकपा एमाले र माओवादी केन्द्रले तयारी गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन् ।

नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई समेट्ने निर्णय नेकपा माओवादीले गरेको छ । माधव नेपाललाई समेट्न एमाले पनि तयार भएको बुझिएको छ । यसबारे एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले आवश्यकता भए छलफल हुँदै जाने बताए । उनले भने, ‘आवश्यकता भए छलफलको बाटो खुल्ला छ । मिलेर मिलाएर जाने कुरा छँदै छ । ’

नयाँ गठबन्धनमा राप्रपा नसमेटिने भएको छ । कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरूलाई बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि राप्रपालाई नयाँ गठबन्धनमा नलिने बताएका छन् । एजेन्डा नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने समझदारी भएको ओलीको भनाइ छ ।