प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

36
सांकेतिक तस्विर

दाङ : दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन्। साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफैँ प्रहरी कार्यालय पुगेका हुन्। प्रहरीसामु पिमलालले श्रीमतीले अनावश्यक दबाब दिएका कारण हत्या गरेको दाबी गरेका छन्। आइतबार बिहान ७ बजे हत्या गरेको भन्दै ८ बजे उनी प्रहरी कार्यालय पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। शनिवार राति कार्यालयबाट बिदा मागेर नेपाली घोराही-१५ स्थित होटल ग्रिनपिसमा श्रीमती र छोरासहित बसेको खुलेको छ। श्रीमतीले जागिर भएको ठाउँमा बसेर घरमा बेवास्ता गरेको भन्दै पटकपटक भनेको र सहन नसकेर हत्या गरेको दाबी उनले प्रहरीसमक्ष गरेका छन्। आइतबार बिहान यो विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।