भारतीय पक्षले कोशीको बहाव मोडेपछि जोखिमा गोबरगाढाबासी

58

बिबिसी, जेठ १५,
काठमाडौँ । ‘कोशीको धार परिवर्तन गर्ने गरी’ भारतीय पक्षले नयाँ नहर बनाएर पानी छोडेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आफूहरूको बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले सरकारको सहयोगको अपेक्षा गरेका छन्। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नं १३ का वडाध्यक्ष विन्देश्वर यादव भन्छन्, “कोशी योजना अन्तर्गत भारतीय पक्षले कोशी व्यारेजको पश्चिमतर्फबाट नयाँ च्यानल बनाएर कोशीको बहावलाई पश्चिम मोडन खोजेपछि गोबरगाढा बस्ती नाकाबन्दीमा परेको छ।” उनले भने, “हाम्रो गाउँ जान आउन कठिन भएको छ , कहिले मान्छे डुब्ला, कहिले मर्ला धेरै अनिश्चय भयो।”

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश कुमार साह भन्छन्,”पूर्वतर्फको कोशीको बहावले भारतीय भूमिमा डुवान र कटान गर्ने अवस्था आएपछि कोशीलाई पश्चिमतर्फ फर्काउँदा नेपाली बस्ती जोखिममा परेको छ।”

जोखिम

मेयर साहका अनुसार भारतले नेपालीभूमिमा बनाएको संरचनाका कारण सप्तरीको हनुमाननगर, छिन्नमस्ता , कोइलाडी, तिलाठी र राजविराजक्षेत्र नै जोखिम पर्ने अवस्था छ । उनी भन्छन, “पूर्वी तटबन्ध टुट्दा भारततर्फ धेरै नोक्सान हुन्छ आफनो नोक्सान जोगाउनका लागि मात्र पानीको बहाव परिवर्तन गर्न खोजेको हो, हाम्रोतिर खतरा बढाएको छ।”

स्थानीयवासीका अनुसार भारतीय पक्षले कोशी ब्यारेजदेखि पश्चिम तर्फबाट करिब १७ किलोमिटर तलसम्म नयाँ च्यानल बनाएको छ ।कोशीको मूल भँगालो र नयाँ नहर बनाइएको बीच भागमा गोबरगाढा बस्ती छ । जहाँ ९० घर परिवारमा करिब ५ सय मानिसको बसोबास रहेको बताइएको छ ।

अहिले गोबरगाढाको बाहिरी भेगसँगको आवत जावत विच्छेद जस्तै भएको छ । कतिपय पुरुषहरू पानीमा पौडेर , डुबेर वारी पारी आउजाउ गर्ने गरेपनि महिला तथा बालबालिका भने गाउँमै बन्धक जस्तै भएको स्थानीय महिला राधादेखि यादवले बताएकीछन्। ।

महिला केटाकेटी

उनी भन्छिन्, “बाढी आएपछि जाने आउने समस्या छ , बाटोघाटोको समस्या छ महिलालाई झन धेरै समस्या छ। खोलामा पानी छ, केटाकेटीलाइ पनि त्यतिकै समस्या छ।” गाउँबाट बजारक्षेत्रको सम्पर्क विच्छेद हुँदा गोबरगाढाबाट बाहिर पढन जाने विद्यार्थी, बिरामी लगायत सर्वसाधारण निकै पीडित भएको स्थानीयवासी बताउँछन्।

भारत विहारका सुपौल , अररिया , सहर्सा , पूर्णिया लगायतका क्षेत्रमा हुने बाढीको जोखिम कम गर्न भारतीय पक्षले उक्त संरचना बनाएको नेपालीपक्षको आरोप छ। त्यसबारे भारतीय पक्षबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । कोशी योजना अन्तर्गत कोशी सम्पर्क कार्यलय विराटनगरका अधिकारीहरु भारतीय पक्षले एकपक्षीय रुपमा च्यानल बनाएर कोशीको पानी छोडेको आरोप लगाउँछन ।

सन् १९५४को कोशी सम्झौता अनुसार ब्यारेज, तटबन्ध लगायतका संरचनाको मर्मत तथा संभार भारतीय पक्षले गर्ने भनिएपनि त्यस्ता काम गर्दा नेपाली अधिकारीसँगको छलफल र सहमतिमा गर्ने उल्लेख गरिएको बताइएको छ। तर कोशी योजनाका अधिकारीहरू भारतीय पक्षले आफूखुशी त्यस्ता संरचना बनाउँदै आएको बताउँछन्।

भारतीयको ‘वेवास्ता’

उर्जा , जलस्रोत तथा सिँचाई मन्त्रलायका अधिकारीहरू पनि बेला बेला यस्ता समस्या आउने गरेको स्वीकार्छन्। दुई देशका अधिकारीहरुको संयुक्त वैठकमा त्यस्ता कुरा उठाइएपनि भारतीय पक्षले त्यसलाइ बेवास्ता गर्दै आएको मन्त्रालयका एक सचिव डा. सञ्जय शर्माको भनाइ छ। उनी भन्छन, ” फेरी यस्तो नहोस भनेर कुराकानी गर्ने हो, यसलाइ करेक्सन गर्नुपर्छ भनेर संयुक्त संयन्त्र र प्राविधिक समितिका हरेक बैठकमा कुरा उठिरहेको पनि छ , फेरी पनि हामी गर्छौँ, हाम्रो कुनै समस्या छैन हामी सहकार्य गर्छौं भन्ने कुरा गर्छन् तर हामीले भन्दा पनि उनीहरूले बेवास्ता गरिरहेको अवस्था छ। अबका दिन पनि हामी यसलाई सशक्त रुपमा उठाउँछौ।”

विराटनगरस्थित बीबीसी नेपाली सेवाका सम्वाददाता भन्छन्, विना कसुर एकाएक आफ्नो दैनिक जीवन नराम्ररी प्रभावित हुन पुगेका सप्तरीको गोबरगाढका नेपालीहरू समस्याको तत्काल समाधानको खोजीमा छन्, नेपाल सरकारले आफ्नो तर्फबाट केही गर्न नसक्ने हो भने कुटनीतिक तवरबाट भारतीय पक्षसँग कुरा गरेर भएपनि तत्काल समस्याको समाधान खोज्न स्थानीयवासीले माग गरेका छन्।