५५ वर्षअघि अमेरिकाकी डोरोथीले पोखरामा बनाएको संग्रहालय

13

अमेरिकाको राष्ट्रपति उम्मेदवार जोन एफ केनेडी सन् १९६० मा चुनावी अभियानका क्रममा मिनिसोटा विश्वविद्यालय पुग्छन्। चुनावी भाषणबाहेक नौलो केही आउला भन्ने कसैले विश्वास गरेका थिएनन्। आम अपेक्षा विपरीत केनेडीले विश्वविद्यालयमा नौलो अवधारणा सुनाए, जुन विद्यार्थीका लागि रोमाञ्चक थियो।उनले विश्वविद्यालयका विद्यार्थीलाई संसार घुम्दै विदेश सेवामा काम गर्न अफर गरे। देशका लागि विदेश सेवामा काम गर्न उनले गरेको आग्रह विद्यार्थीले मन पराए। उनी राष्ट्रपति निर्वाचित भएपछि ‘पिस कोर भोलेन्टियर’ नामक संस्था स्थापना गरेर विश्वका विभिन्न देशमा विद्यार्थीलाई स्वयंसेवा गर्न पठाउन थाले।िक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा विदेश गएर स्वयंसेवी सहयोग गर्नु उनीहरूको उद्धेश्य थियो। मिनिसोटा विश्वविद्यालयमा भू-गर्भशास्त्रमा स्नातकोत्तर गरेकी डोरोथी मिएरो पनि राष्ट्रपति केनेडीको यो अवधारणाबाट प्रभावित भइन्।

अमेरिकाले पिस कोर भोलेन्टियर नेपालमा पनि पठाउने भयो। डोरोथी सन् १९६२ मा ‘पिस कोर भोलेन्टियर’ बनेर पहिलो पटक नेपाल आइन्। डोरेथीले काठमाडौंको त्रिचन्द क्याम्पसमा एक वर्ष विज्ञान पढाइन्। काठमाडौंमा पढाउन थालेको दोस्रो वर्षमै उनी पोखरा आउन पाइन्। त्यतिबेला पोखराको पृथ्वीनारायण (पिएन) कलेज बामे सर्दै थियो। सन् १९६० मा स्थापित पिएन कलेजले सन् १९६२ देखि गणित र भौतिकशास्त्र विभाग स्थापना गर्‍यो। त्यतिबेला नेपालमा पढेलेखेका मानिस निकै कम थिए। त्यसमाथि गणित र विज्ञानका शिक्षक पाउनै मुश्किल। क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोनले अमेरिकी पिस कोर भोलेन्टियरलाई गणित र विज्ञान पढाउने स्वयंसेवी शिक्षक पठाइदिन अनुरोध गरे।

कलेजको अनुरोध अमेरिकी पिस कोर भोलेन्टियरले स्वीकार गर्‍यो। अमेरिकी स्वंयसेवी शिक्षक आउनुअघि करिब ६ महिना जति विज्ञान र गणित बेलायती नागरिक कोलिन फिलिप स्मिथ (पुतली बाजे)ले पढाए। ‘युनाइटेड मिसन टु नेपाल’ मार्फत नेपाल आएर काठमाडौं, गोरखा हुँदै कोलिन पोखरा आइपुगेका थिए। विज्ञान र गणित पढाउन अमेरिकी पिस कोर भोलेन्टियरका रूपमा पिटर फारकुहार नामक शिक्षक पोखरा आए। भूगोल अध्ययन गरेका पिटरले धेरै समय पिएनमा पढाएनन्। त्रिचन्द्र कलेजमा विज्ञान पढाइरहेकी डोरोथी मिएरो र पिटरले कलेज साटे। पिटर काठमाडौं गए, डोरेथी पोखरा आइन्। सन् १९६३ मा हवाइजहाजमार्फत पहिलोपटक पोखरा ओर्लिएकी डोरोथीसँग एक वर्ष समय बाँकी थियो। अमेरिकी पिस कोर भोलेन्टियरले २ वर्ष मात्र विदेश गएर स्वयंसेवा गर्न पाउँथे। पोखरामा खुलेको पिएन कलेज छाप्रोमा चलेको थियो। पोखरामा उनले भूगोल पढाउन थालिन्। उनको कक्षामा त्यतिबेला जम्मा ६ जना विद्यार्थी थिए।

अमेरिकी पिस कोर भोलेन्टियरको पहिलो समूहमा सामेल थिइन्, डोरोथी। पोखरामा एउटा प्राकृतिक विज्ञान संग्रहालय आवश्यक रहेको उनले महसुस गरिन्। सुरूमा उनले यो कुरा आफ्नो कोठामा आइरहने एक जना महिलालाई सुनाइन्।‘छिमेकी एक महिला मेरो कोठामा आइरहन्थिन्। हामी गफ गरेर बस्थ्यौं। एक दिन मैले उनलाई कलेजमा एउटा प्राकृतिक विज्ञान संग्रहालय आवश्यक रहेको सुनाएँ,’ उनले आफ्नो पुस्तक ‘थर्टी इयर्स इन पोखरा’मा भनेकी छिन्।पोखरामा मानिसहरूका लागि मनोरञ्जन र ज्ञानका धेरैै स्रोत नभएको उनले अनुभव गरेकी थिइन्। त्यतिबेला फिल्म हल एउटा मात्र थियो। मेला, महोत्सव दिनहुँ हुन्थेन। मानिसलाई मनोरञ्जन होस भनेर पनि संग्रहालय चाहिने उनले बताएकी थिइन्।संग्रहालय बनाउने प्रस्ताव उनले कलेज प्रमुख जर्ज जोनलाई सुनाइन्। संग्रहालय बन्नुअघि नै उनको समय सकियो। उनी अमेरिका फर्किन्।

अमेरिका फर्किएपछि उनले पोखरालाई विर्सिनै सकिनन्। अन्नपूर्ण र धौलागिरी हिमालय श्रृङ्खलाको काखमा बसेको पोखरासँग उनको बिछट्टै लगाव थियो। उनलाई फेरि पोखरा फर्किन मन लाग्यो। उनी फेरि पिस कोर भोलेन्टियरकै रूपमा सन् १९६५ मा दोस्रो पटक पोखरा आइन्। पहिलो पटक पोखरा आउँदा प्रस्ताव गरेको प्राकृतिक विज्ञान संग्रहालय अघि बढाउने सोच बनाइन्। उनी भोलेन्टियरका रुपमा २ वर्ष मात्र नेपाल बस्न पाउँथिन्। यति समयमा उनले आफ्नो योजना सक्नुपर्थ्यो। संग्रहालय बनाउन प्रिन्सिपल जर्ज जोनले स्विकृति दिए। सुरूमा कुन ठाउँमा बनाउने अलमलमा परे। भविष्यमा कलेजका लागि धेरै क्षेत्रफल जमिन चाहिनेमा उनीहरू त्यतिबेलै सजग थिए। उनीहरूले कलेज हाताभित्र उपयुक्त ठाउँ हेरेर संग्रहालय बनाउन थाले।