द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित हुँदैन : मन्त्री ज्वाला

36

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नरहने बताएका छन्। बुधबार संविधान दिवसको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताएका हुन्। उनले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि विस्तारै विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए। उनले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरुको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरुको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्म गरिएको बताए।

उनले द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने बताए। उनले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ शुरु गरेको छ त्यही उत्साह निरन्तर रुपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउने बताए। उनले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिवद्धता जनाए। मन्त्री ज्वालाले बस सेवालाई निरन्तरता र विस्तार दुवै गर्ने बताए। उनले सरकारले सञ्चालन गरेको द्रुत बसमा यात्रुहरुलाई कहाँ समस्या भयो? कहाँ ट्राफिक समस्या भयो। सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने समय करिव दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउने योजना रहेको बताए।