Monday, September 28, 2026
Home समाचार सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

95

काठमाडौँ । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चार जनालाई आज सार्वजनिक गरेको छ। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरूङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन्। साथै अन्य दुई जना भारतीय नागरिकहरू पश्चिम बङ्गालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार गत भदौ २५ गते उनीहरूले कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकि अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी दुई तोलाको लकेटसहितको सिक्री लुटपाट गरेका थिए।

अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–२८ बागबजार घर भई हाल सीतापाइला बस्ने ४४ वर्षी सुरज गुरूङ समेतका मानिसहरूको संलग्नता रहेको भन्ने खुल्न आएपछि निजहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरूसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। -thahakhabr