‘दिमाग खराब’मा खगेन्द्रदेखि स्वस्तिमासम्म

27

काठमाडौं । निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘दिमाग खराब’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक बस्नेतले सोमबार सार्वजनिक गरेको फिल्मको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बरालको नाम उल्लेख छ । फिल्ममा सौगात मल्लको पनि अभिनय रहने चर्चा थियो । तर, अब उनको ‘च्याप्टर क्लोज’ भएको छ । सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन रहने फिल्मको पटकथा आकाश बरालले तयार पारेका हुन् । सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रौनक विक्रम कँडेल छन् । जेठ १ गतेबाट छायांकनमा निस्कन लागेको फिल्मको प्रदर्शन मिति आगामी कात्तिक २४ गते ९तिहार०लाई घोषणा गरिएको छ ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मले जनता र शक्तिको कथा भन्नेछ । निश्चल ६ वर्षपछि निर्देशनमा फर्किन लागेका कारण ‘दिमाग खराब’बाट फिल्म क्षेत्रले नै ठूलो अपेक्षा राखेको छ । उनले आफ्नो डेब्यू फिल्म ‘लुट’बाट नेपाली फिल्ममा नयाँ कथ्य संरचनाको सुरुवात गरेका थिए । यसको दोस्रो श्रृंखलामा भने उनी कथावाचनमा नराम्रोसँग चुक्न पुगे ।

निश्चलले गएको ६ वर्षमा निर्देशनमा फर्किन प्रयास गरेका होइनन् । लकडाउनअघि उनी फिल्म ‘जिन्दाबाद’ बनाउने तयारीमा थिए । उनी लोकेशन गर्न कर्णाली समेत पुगेका थिए । तर, भिएफएक्सको कठिनाई र ठूलो बजेटको आवश्यकता पर्ने भएपछि उनले यो फिल्म सुरु गर्न सकेनन् । निर्देशनमा सक्रिय नभए पनि उनले फिल्म र म्यूजिक भिडियोमा भने अभिनय गर्दै आइरहेका थिए ।