अहिले अर्थतन्त्रमा ज्वरो आएको छ

19

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा दीर्घरोग रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा दीर्घरोग लागेको र त्यसको ठिक ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिले अर्थतन्त्रमा हनहन ज्वरो आएको छ । तर, यो दुई–चार दिनमा निको हुने ज्वरो होइन । मौसम बदलिएर चिसो लागेर आएको ज्वरो पनि होइन ।’ विदेशी मुद्रा सञ्चिति अलिकति तलमाथि हुँदा तर्सनुपर्ने अवस्था छ । ‘यो आर्थिक वर्षका निम्ति चालू खर्च घटाउन के गर्ने, पुँजीगत खर्च बढाउन के गर्ने, मेरो उठ्ती नै कम भएको वेलामा कहाँ–कहाँ काटेर खर्च धान्ने प्रधानमन्त्रीले सोच्नुपर्छ,’ उनले भने ।

अर्थविद् डा। गोविन्द नेपालले देशले खर्चै धान्न नसक्ने चुनौतीको सामना गरिरहेको बताएका छन् । उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले कर्मचारीलाई तलब बाँड्नेदेखि वृद्ध भत्ता बाँड्नसमेत स्रोतको समस्या रहेको औँल्याए ।‘सरकारलाई आफ्नो खर्चै धान्न गाह्रो पर्ने देखिन्छ । वृद्ध भत्ता नै दिन सक्ने हो कि होइन ?’ उनले भने, ‘सरकारले यसलाई समाधान गर्छ भन्ने विश्वास छ ।’ उनले सार्वजनिक प्रशासनमा चेन अफ कमान्ड नै नभएकाले सरकारले दिने परिणाममै असर परेको समेत बताए ।