काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्।
पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा रनआउट गरेसँगै नेपाल खेलमा फर्किएको थियो। त्यसपछि समालिन प्रयास गरे पनि पिएनजीले लगातार विकेट गुमाउन बाध्य भयो।
पिएनजीका लागि भने ओपनर टोनी उराले सर्वाधिक ५० रन बनाउँदा कप्तान असद भाला ४२ रनमा आउट भए। त्यस्तै किपलिङ्ग डोरिगा ४२ रनमा आउट हुँदा चार्लेस अमिनी १४ रन बनाएर आउट भएका थिए।
७ विकेट गुमाएपछि केही समय क्रिजमा रहेका पिएनजीका नोरमन भनुवा र रिले हेकुरेले ८ औँ विकेटका लागि ४१ रनको साझेदारी गरे। हेकुरे २० रनमा सन्दीप लामिछानेको बलमा आउट भएसँगै यो साझेदारीको पनि अन्त भयो। अहिले क्रिजमा भनुवा २१ रनमा खेलिरहँदा उनलाई साथ दिन एलाई नाओ क्रिजमा आएका छन्।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा कुशल मल्लले १ विकेट हात पारेका छन्।