‘ए साथी सुन’ चैत १० मा प्रदर्शन हुने

44

काठमाडौं । राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ए साथी सुन’को आगामी चैत १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमध्ये एउटामा अभिनेत्री वर्षा सिवाकोटी घाइते अवस्थामा डराएको भावमा चित्रित छिन् । अर्को पोस्टरमा उनलाई पृष्टभूमिमा राखिएको छ भने डेब्यू ब्वाई रमेश बानियाँ रिसाहा लुकमा प्रस्तुत छन् ।

लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल बाल कलाकारमा छन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सह(निर्मातामा भने सुदीप पौडेल छन् ।

‘ए साथी सुन’सहित यस वर्ष वर्षा सिवाकोटीका तीन फिल्म प्रदर्शन हुनेछन् । गत बैशाखमा ‘लक्का जवान’ र माघमा ‘मनसँग मन’ प्रदर्शनमा आएको थियो । तर, दुवै फिल्म वर्षकै डिजास्टर बने । लगातार फिल्म असफल हुँदा उनको करिअर नै संकटमा परेको छ । अब ‘ए साथी सुन’ले उनलाई फेरि असफलताको चोट दिन्छ या सफलताको सुख दिन्छ, त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।