मोहन वैद्यसहित तीन पार्टीबीच एकता हुँदै

64

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)गरी तीन पार्टीबीच छिट्टै एकता हुने भएको छ । फागुन महिनाभित्र एकता गर्ने गरी तीन पार्टीबीच छलफल भइरहेको वैद्य नेतृत्वको माओवादीका एक नेताले बताए । ‘हामीले छलफल टुङ्ग्याउनेतिर गएका छौँ । गृहकार्य गरेर सबै विषयमा छलफल भयो ।

माओवाद विचारधारा मान्ने कि नमान्ने, प्रदर्शक सिद्धान्त, कार्यदिशा, कार्यनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे मूल्याङ्कन भयो’ ती नेताले भने, ‘यस्तै सङ्गठनको स्वरूपका विषयमा समेत एउटा अन्डरस्ट्याडिङमा पुगिसकेका छौँ । त्यसलाई आधिकारिक रूप दिने संयोजन समितिको बैठक बस्दै छ।’

पार्टीको नाम भने तीन पार्टीको भाव समेटिने गरी चयन गरिने ती नेताले बताए । यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का संवाद समितिका संयोजक सिपी गजुरेलले तीन पार्टीबीच पार्टी एकता छिट्टै हुने दाबी गरे । सबै विषयमा सहमति भए पनि एकता गर्न मिति घोषणा गर्न मात्रै बाँकी रहेको गजुरेलले बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनबाट अघि बढ्दै गयो । अहिले आएर ध्रुवीकरणतिर जान थालेको छ’ गजुरेलले भने, ‘एकातिर दक्षिणपन्थी अवसरवादीहरू विभाजित भएकाहरू एकता र ध्रुवीकरणतिर जान थालेका छन् । अर्को राम्रो पक्ष क्रान्तिकारी कम्युनिस्टहरू एकता र ध्रुवीकरण गर्नतिर लागेका छौँ ।’