सांसद भण्डारीको उपचारमा कमी हुन नदिन ओलीद्वारा सरकारको ध्यानाकर्षण

51

काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

गए राति बुद्धनगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको आज बिहान निधन भएको थियो।

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजान कीर्तिपुर अस्पतालले सिफारिससमेत गरेको छ। उनलाई मुम्बईस्थित नेशनल बर्न्स अस्पतालमा उपचारका लागि लैजाने तयारी छ। श्री एयरलाइन्समार्फत आज दिउँसो भण्डारीलाई मुम्बई लैजाने तयारी छ।

ओलीले भण्डारीको स्वास्थ्य लाभ कामना गरेका छन्। ‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु,’ ओलीले भनेका छन्, ‘विस्फोटमा परेर निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’