बिबिसीको कार्यालयमा आन्तरिक राजस्वको छापा

31

काठमाडौँ । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार बिबिसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको जनाइएको छ ।

केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिङ्कमाथि प्रतिबन्ध लगाएको थियो । मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दङ्गाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले आइटी नियमलाई आधार बनाएर बिबिसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिङ्क र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको युट्युब लिङ्क र लिङ्क शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो ।