सार्वजनिक बिदा धेरै भए, पुनर्विचार गरौँ

45

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् ।

मङ्गलवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताए । ‘यसमा पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए । उनले भने, ‘हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।