केरुङ-काठमाडौँ रेलवेको काम अगाडि बढाइने

93

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदूत सोङ्गले बिस्तारमा जवाफ दिए।

त्यस क्रममा राजदूत सोङ्गले टोखा छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत गर्ने बित्तिकै चीनले थप कदम अगाडि बढाउने, ‘भिजिबिलिटी’ अध्ययन सकिने बित्तिकै केरुङ–काठमाडौँ रेलवेको काम अगाडि बढाइने, अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने तथा नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए।

चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलङ्की–चाबहिल–चक्रपथ, नारायणगढ–बुटवल सडक र मुग्लिन–पोखरा सडक बिस्तारमा असाध्यै ढिलाइ भएको प्रति मन्त्री श्रेष्ठले चासो राखे। त्यसबाट जनताले सास्ती भोग्नुपरेको उनको भनाई थियो।

कलङ्की(चाबहिल खण्डको केही स्थानमा अझै साइट क्लियर नभएको र नारायणगढ–बुटवल तथा मुग्लिन–पोखरा सडक निर्माण ढिलाइबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने राजदुत सोङ्गको भनाई छ। मन्त्री श्रेष्ठले सङ्खुवासभा–किमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङ्गको ध्यानाकर्षण गराए।