सेयर बजारमा बृद्धि

25

काठमाडौँ । बुधबार सेयर बजार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ ।

निजी क्षेत्रले माग गरिरहेको चालु पुँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैङ्क तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ ।

बुधबार बजार ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ । बुधबार सबै उपसूचकमा हरियाली छायो । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकमा ९.७४ प्रतिशतको उछाल आयो ।

बुधबार ८ वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।

उच्च अङ्कले बढेको बजारमा समेत नेपाल एसबीआई डिबेन्चरका लगानीकर्ताले भने सर्वाधिक १.९९ प्रतिशतले गुमाए ।