अब विवाह अगाडि तथा विवाहेत्तर यौन सम्बन्ध अवैध हुने

44
सांकेतिक तस्विर/गुगलबाट

काठमाडौं । नयाँ कानुनले विवाह अगाडि यौन सम्बन्ध राख्नु र विवाहेत्तर सम्बन्धलाई अपराध मानेको छ । यस कानुनअनुसार यस्तो सम्बन्धमा दोषी ठहरिएका व्यक्तिलाई जेल सजाय हुनेछ । इन्डोनेसियाको संसदले नयाँ फौजदारी कानुनलाई पारित गरेको छ । यद्यपि, अहिले संसदले पास गरेको यो नयाँ कानुनी व्यवस्था आगामी तीन वर्षपछि मात्रै लागू हुने इन्डोनेसियाका कानुनमन्त्रीले बताएका छन् ।

संसदमा अधिकांश सांसदले यस नयाँ कानुनको समर्थन गरेका थिए । संसदमा उपाध्यक्षले नयाँ कानुनले वैधता प्राप्त गरेको घोषणा गरे
संसदले नयाँ कानुनलाई पास गरेपनि इन्डोनेसियाका सामाकिजक कार्यकर्ताले भने यसको विरोध गरिरहेका छन् । समाचार संस्था एएफपीका अनुसार यस कानुनी व्यवस्थाले मुस्लिम बहुल देशका नागरिकको स्वतन्त्रता खोसिन सक्ने मानिसहरुको भनाइ छ ।

इन्डोनेसियाका कानुन तथा मानवअधिकार मन्त्री यसोना लेओलीले भने, ‘हामीले सबै जरुरी मुद्दा तथा अलग– अलग विचारहरुलाई स्थान दिने पूर्ण प्रयास गरेका छौँ । यद्यपि, अब दण्ड संहिताको संशोधनलाई स्वीकार गरौँ । र औपनिवेशिक कालको कानुनलाई छाडिदिऔँ ।’
यो नयाँ कानुनले इन्डोनेसियामा रहेका तेस्रो लिङ्गी समुदायमाथि ठूलो असर पर्ने आलोचकहरुको भनाइ छ । इन्डोनेसियामा अझै समलिङ्गी विवाह सम्बन्धलाई अनुमति दिइएको छैन ।

कानुन मन्त्रालयका प्रवक्ता एलबर्ट एरिजले यो संशोधनको बचाउ गर्दै यसबाट विवाह जस्तो संस्थाको रक्षा हुने जिकिर गरेका छन् । उनले विवाह अगाडिको तथा विवाहेत्तर यौन सम्बन्धको उजुरी जीवन साथी, आमा–बुबा वा छोराछोरीले गर्न सक्ने पनि बताए ।इन्डोनेसियाले पारित गरेको नयाँ दण्डसंहिताको सबैभन्दा बढी विवाद भइरहेको बुँदामा विवाह अगाडिको यौन सम्बन्ध र विवाहित भइसकेपछि अन्यसँग सम्बन्ध राख्नुलाई अपराध हुने उल्लेख छ ।